एनआईसी एशिया क्यापिटलले असोज ७ गतेदेखि इक्विटी अपर्चुनिटी फण्ड निष्काशन गर्ने

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत नयाँ बन्दमुखी योजना ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड’ असोज ७ गतेदेखि निष्काशनमा आउने भएको छ।
एनआईसी एशिया बैंक प्रवद्र्धक रहेको उक्त फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्कासनमा आउनेछ। यसअनुसार फण्डको कुल आकार ८० करोड रुपैयाँ रहेको छ।
कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई प्रवद्र्धक एनआईसी एशिया बैंक र योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलका लागि छुट्याइएको छ। बाँकी ६ करोड ८० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
सात वर्ष अवधिको यस योजनामा लगानी गर्न इच्छुकले न्यूनतम १०० इकाई अर्थात् १ हजार रुपैयाँदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। फण्डको निष्कासनमा लगानीकर्ताले छिटोमा असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि असोज २१ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै मेरो सेयरमार्फत पनि अनलाइन आवेदन दिन सकिनेछ।









