नबिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

२२ भाद्र २०८३, सोमबार ०८:१२

काठमाडौँ  । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५% बोनस शेयर र १०.८०% नगद लाभांश गरी  १५.८०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस शेयरको लागि कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा बराबर तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा रकम रहेको छ। उक्त रकमा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।

त्यसैगरी, बैठकले बैंकको ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८% का दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश (आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिन) (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने साधारण शेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा बैंकले हासिल गरेको सन्तोषजनक वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा शेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले उक्त लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*