नेपालमै पहिलोपटक १०० प्रतिशत भर्चुअल साइबर सेक्युरिटी इन्टर्नशिप ल्याउँदै वन कभर

२२ भाद्र २०८३, सोमबार १३:४३

काठमाडौं । साइबर सुरक्षा क्षेत्रमा बढ्दो जनशक्तिको आवश्यकता र युवाको रुचिलाई लक्षित गर्दै काठमाडौंस्थित साइबर सेक्युरिटी फर्म वन कभर प्रालिले नेपालमै पहिलोपटक १०० प्रतिशत भर्चुअल ‘साइबर सेक्युरिटी इन्टर्नशिप’ कार्यक्रम सार्वजनिक गरेको छ।

किताबी ज्ञानलाई व्यावहारिक सीपसँग जोड्ने उद्देश्यले ल्याइएको यो कार्यक्रम देशभरका विद्यार्थी तथा हालै स्नातक तह पूरा गरेका युवालाई लक्षित गरिएको हो। भौगोलिक दूरीका कारण काठमाडौंमा आएर इन्टर्नशिप गर्नुपर्ने बाध्यता हटाउँदै सहभागीले आफ्नै ठाउँबाट साइबर सुरक्षासम्बन्धी व्यावहारिक ज्ञान र अनुभव हासिल गर्न सक्ने कम्पनीले जनाएको छ।

छ हप्तासम्म सञ्चालन हुने कार्यक्रममा रेकन तथा इन्फर्मेसन ग्यादरिङ, वेब एप्लिकेसन सेक्युरिटी, एपीआई सेक्युरिटी टेस्टिङ, नेटवर्क तथा इन्फ्रास्ट्रक्चर, मोबाइल एप्लिकेसन सेक्युरिटी तथा रिपोर्टिङ र क्लाइन्ट कम्युनिकेसनलगायत विषयमा प्रशिक्षण दिइनेछ।

कार्यक्रममा प्रत्यक्ष रूपमा साइबर सेक्युरिटी क्षेत्रमा काम गरिरहेका पेनिट्रेसन टेस्टर तथा सेक्युरिटी इन्जिनियरबाट एक–एक जना सहभागीलाई मेन्टरसिपको व्यवस्था गरिएको छ। यसबाट सहभागीले सैद्धान्तिक ज्ञानसँगै वास्तविक कामको अनुभव हासिल गर्ने अवसर पाउनेछन्।

इन्टर्नशिपमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई वन कभरमै रोजगारीको अवसरका लागि प्राथमिकता दिइने कम्पनीले जनाएको छ। साइबर सुरक्षामा करियर बनाउन चाहने युवालाई तालिमदेखि रोजगारीसम्म पुग्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ।

यसमा देशका जुनसुकै स्थानमा रहेका विद्यार्थी तथा युवाले सहभागी हुन सक्नेछन्। साइबर सुरक्षा क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा युवालाई व्यावहारिक रूपमा सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको वन कभरले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*