नापी कार्यालय कलंकीका दुई कर्मचारीले घुस खाएको पुष्टि, अख्तियारले चलायो मुद्दा

२२ भाद्र २०८३, सोमबार १४:०९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीमा कार्यरत दुई कर्मचारीविरुद्ध घुस खाएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार तत्कालीन समयमा नापी कार्यालय कलंकीमा सर्भेक्षक पदमा कार्यरत अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेविरुद्ध आरोपपत्र दायर गरिएको हो।

चन्द्रागिरी नगरपालिका–९ मा रहेको जग्गा हालसाबिक गरी प्लट मिलानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उनीहरूले ५० हजार रुपैयाँ घुस मागेको उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा भूमि प्रशासन कार्यालय कलंकीमा दर्ता श्रेस्ता कायम रहेको साविक मच्छेगाउँ–९ग अर्थात् हाल चन्द्रागिरी–९ग मा रहेको जग्गा हालसाबिक तथा प्लट मिलानको काम गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकमका लागि बार्गेनिङ गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

नियमअनुसार गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई दुःख हैरानी दिएको र ५० हजार रुपैयाँ घुस मागेको अनुसन्धानबाट खुलेको हो। उनीहरूले उक्त रकम आफैंले नबुझी कार्यालय सहयोगीमार्फत लिन मन्जुर गरेको समेत पुष्टि भएको अख्तियारले जनाएको छ।

आयोगले उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको निष्कर्ष सहित सोहीअनुसार ५० हजार रुपैयाँ बिगो कायम गरी दुवै प्रतिवादीलाई कैद तथा बिगोबमोजिम जरिवाना गर्न मागदाबी लिएर विशेष अदालतमा मुद्दा चलाएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*