डल्ले खुर्सानीमा भेटियो अत्यधिक विषादी

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मानिने विषादीको मात्रा उच्च पाइएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई, कालीमाटीले गरेको परीक्षणमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट कालीमाटी ल्याइएको डल्ले खुर्सानीमा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्रा उच्च देखिएको हो ।
प्रयोगशालाले भदौ २२ गते जारी गरेको परीक्षण प्रतिवेदनअनुसार बिक्रेता दीपक रतन शाक्यमार्फत बजारमा ल्याइएको उक्त डल्ले खुर्सानीमा कार्बामेट समूहको विषादी २.३४७६ प्रतिशत र अर्गानोफस्फेट समूहको विषादी ४०.५८०५ प्रतिशतसम्म भेटिएको छ ।
प्रयोगशालाको मापदण्डअनुसार विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोग योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा तत्काल खान अयोग्य हुने भएकाले केही दिन सुरक्षित रूपमा राखेर विषादीको प्रभाव कम भएपछि मात्र उपभोग गर्न मिल्ने व्यवस्था छ । ४५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा भने त्यस्ता खाद्य वस्तु उपभोगका लागि अयोग्य मानिन्छन् ।
सोही मापदण्डका आधारमा डल्ले खुर्सानीलाई प्रयोगशालाले ‘केही दिन राखेर पर्खिने’ वर्गमा राखेको छ । अर्थात् उक्त खुर्सानी तत्काल उपभोग नगरी केही दिन सुरक्षित रूपमा राखेर मात्र खानुपर्ने देखिएको छ ।
यसैगरी प्रयोगशालामा परीक्षण गरिएका अन्य ९ वटा तरकारीका नमुनामा भने विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम पाइएको छ । साग, प्याज, बन्दा, गोलभेँडा, काँक्रो, काउली, परवल, भिण्डी र फर्सीका नमुना उपभोग योग्य रहेको प्रयोगशालाले जनाएको छ ।
हाल बजारमा तरकारी तथा खाद्य वस्तुमा कार्बामेट र अर्गानोफस्फेट समूहका किटनाशक विषादीको अवशेष परीक्षण गरिँदै आएको छ । परीक्षणमा ३५ प्रतिशतभन्दा कम विषादी देखिएमा उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर उपभोग गर्न मिल्ने र ४५ प्रतिशतभन्दा बढी भए उपभोगका लागि अयोग्य मान्ने मापदण्ड प्रयोगमा छ ।









