‘राति घरमै छिरेर वृद्ध दम्पती बन्धक, गरगहना र नगद लुटेर फरार’

२२ भाद्र २०८३, सोमबार १६:१८

काठमाडौं । वृद्ध दम्पतीलाई बन्धक बनाएर घरमा डकैती गरेको आरोपमा प्रहरीले रामेछापबाट पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर तहतराज र धनकुटाको बेलाहारा गाउँपालिका–५ का ३८ वर्षीय दीपक भनिने गुणराज विश्वकर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ परेका सुमन काठमाडौंको एक निजी विद्यालयमा चालकका रूपमा कार्यरत छन् । उनको साथबाट २५ हजार रुपैयाँ नगद, मोबाइल र बा ७३ प ८७१२ नम्बरको मोटरसाइकल बरामद भएको छ ।

दीर्घराज बसका सहचालक हुन् । उनको साथबाट ५२ हजार २ सय रुपैयाँ नगद तथा डकैतीका क्रममा लगाएको भनिएको ज्याकेट र हाफ कट्टु बरामद भएको प्रहरीले जनाएको छ ।

पशुपति मोटरसाइकल इनड्राइभ चालक हुन् । उनको साथबाट मोटरसाइकल र ६ हजार ४६० रुपैयाँ नगद बरामद भएको छ । प्रहरीले उनको लक्ष्मी सनराइज बैंकको खातामा १ लाख ३१ हजार रुपैयाँ रहेको समेत फेला पारेको छ । उनको साथबाट पुराना सिक्का, सुनजस्तो देखिने औंठी र बुद्धचित्तका २२ दाना पनि बरामद भएको छ ।

पिताम्बर सुनचाँदी व्यवसायी रहेको प्रहरीले जनाएको छ । अर्का आरोपी गुणराजको साथबाट सुनका दुई थान औंठी बरामद भएको छ ।

प्रहरीका अनुसार उक्त समूहले १८ भदौको राति करिब १२ बजेतिर खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलस्थित ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छी माया तामाङलाई घरमै बन्धक बनाएर लुटपाट गरेको थियो ।

आरोपीहरूले वृद्ध दम्पतीको मुखमा प्लास्टिकको टेप बाँधेर आँखामा पट्टी लगाएको तथा ज्यान मार्ने धम्की दिँदै गरगहना र नगद लुटेर लगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पशुपति यसअघि रामेछापकै महादेव मन्दिरको दान पेटिका फुटाएर चोरी गरेको घटनामा समेत संलग्न रहेको पाइएको छ । उनी १ असार २०८३ को राति सुन्दरी श्रेष्ठको करिब ३० किलोको खसी तथा ७ भदौमा रामबहादुर श्रेष्ठको १५ किलोको बोका चोरीमा समेत संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

दीर्घराजविरुद्ध १४ पुस २०७८ मा रामेछापमै प्रहरीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलेको पाइएको छ । पशुपतिको समूह काठमाडौंमा सिक्री लुटपाटको घटनामा समेत संलग्न रहेको र उनीहरूमाथि प्रहरी वृत्त कालिमाटीबाट मुद्दा चलेको खुलेको छ ।

यस्तै, गुणराजविरुद्ध प्रहरी वृत्त बौद्धबाट जुवा कसुरमा मुद्दा चलेको पाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा यही समूहले १८ भदौ २०८३ को बिहान करिब ६ बजेतिर रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीस्थित ७५ वर्षीय इमानसिंह तामाङको घरबाट ७८ हजार रुपैयाँ चोरी गरेको समेत खुलेको छ ।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*