नापजाँच भएको १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारले पाए जग्गाधनी पुर्जा

काठमाडौं । नापजाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ७३० स्ववासी परिवारले अन्ततः जग्गाधनी पुर्जा प्राप्त गरेका छन् ।
लामो समयदेखि जग्गाधनी पुर्जाको पर्खाइमा रहेका परिवारलाई नापी कार्यालय कपिलवस्तुले जग्गाधनी पुर्जा वितरण गरेको हो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार नापजाँच सम्पन्न भएको लामो समयपछि पुर्जा वितरणको काम अघि बढाइएको हो ।
पुर्जा प्राप्त गरेसँगै वर्षौंदेखि जग्गामा बसोबास गर्दै आएका स्ववासी परिवारलाई आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् । सम्बन्धित निकायबीचको समन्वयमा बाँकी रहेका प्रक्रिया टुंग्याउँदै भूमिहीन नागरिकलाई सहज रूपमा जग्गाधनी पुर्जा उपलब्ध गराउने कामलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ ।









