रास्वपालाई विपद्मा पीडित नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिँदैन : रवि लामिछाने

२४ भाद्र २०८३, बुधबार १५:२८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महाविपद्का बेला सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानमा टीकाटिप्पणी र कटाक्ष गर्ने काम बन्द गर्न आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै लामिछानेले विपद्मा परेका नागरिकको पीडामाथि टिप्पणी गर्ने प्रवृत्ति रोक्न आग्रह गरेका हुन् ।

‘यो महाविपद्को समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिल्यै बन्द गरौं,’ उनले भने ।

लामिछानेले विपद्मा परेका नागरिकमाथि दुर्व्यवहार गर्ने व्यक्तिमाथि कारबाही गर्न सरकारसँग आग्रह गरे । पीडितको पक्षमा राज्य उभिएको अनुभूति नागरिकले गर्ने गरी कारबाही अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

‘सरकारलाई मेरो स्पष्ट आग्रह छ– पीडामा रहेका नागरिकलाई यस्ता दुर्व्यवहार भएका छन् भने हामी निर्मम हुन्छौं भनेर विज्ञप्ति निकाले मात्रै पुग्दैन,’ उनले भने, ‘राज्य साँच्चै निर्मम छ र पीडितको पक्षमा उभिन्छ भन्ने कुरा नागरिकले महसुस गर्नेगरी देखाउने हो । देखाइदिनुहोला ।’

रास्वपालाई विपद्का बेला पीडित नागरिकलाई होच्याउने अन्ध समर्थक आवश्यक नरहेको पनि लामिछानेले बताए । पार्टीलाई शोक र पीडामा रहेका नागरिकको पक्षमा उभिने तथा उनीहरूको आँसु पुछ्ने सदस्य आवश्यक रहेको उनको भनाइ थियो ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन,’ उनले भने, ‘हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ ।’

विपद्को अवस्थामा सरकारका कामलाई सत्ता र विपक्षको परम्परागत दृष्टिकोणबाट मात्र हेर्न नहुने लामिछानेले बताए । विपद्को सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको भन्दै उनले सरकारी प्रयासको प्रशंसा पनि गरे ।

‘यो विपत्तिमा पनि सरकारको कामलाई सरकार र विपक्षीको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ,’ उनले भने, ‘विपत्तिको सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको थियो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*