आयोन ईभीमा आगलागी प्रकरण : कारण पत्ता लगाउन प्राविधिकको सहयोग लिँदै प्रहरी

२८ भाद्र २०८३, आईतवार ११:११

काठमाडौं । चितवनको भरतपुरमा चलिरहेको अवस्थामा आयोन ब्रान्डको विद्युतीय कारमा आगलागी भई चालकको मृत्यु भएको घटनाको कारण पत्ता लगाउन प्रहरीले प्राविधिक पक्षबाट समेत अनुसन्धान अघि बढाएको छ ।

भरतपुर महानगरपालिका–९ बसन्तचोक क्षेत्रमा भदौ २६ गते बिहान करिब ६ बजे दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्रदेश–०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगो लागेको थियो ।

आगलागीका कारण कारमा सवार चालक भरतपुर महानगरपालिका–१२ का ५६ वर्षीय अमर पराजुलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सर्भिस लेनमा कार अघि बढिरहेका बेला आगो देखिएको र केही समयमै आगो तीव्र रूपमा फैलिएको थियो । स्थानीयले गाडी रोक्न संकेत गरे पनि कार सडकको डिभाइडरमा ठोक्किएको बताइएको छ । आगो नियन्त्रणमा लिन सुरक्षाकर्मीले दमकलको सहायता लिएका थिए ।

घटनाको वास्तविक कारण पहिचान गर्न प्रहरीले अनुसन्धान टोली परिचालन गरेको छ । कारको विद्युतीय प्रणाली, ब्याट्री तथा आगलागी सुरु भएको सम्भावित स्थानलगायत प्राविधिक पक्षबारे समेत अध्ययन भइरहेको प्रहरीले जनाएको छ । आवश्यकताअनुसार सम्बन्धित प्राविधिकहरूसँग समन्वय गरेर घटनाको कारण यकिन गर्ने तयारी प्रहरीको छ ।

मृतक पराजुलीको शव भरतपुर अस्पतालमा पोस्टमार्टम गरिएको छ ।

नेपालमा आयोन ब्रान्डका विद्युतीय सवारीसाधन चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले बिक्री तथा वितरण गर्दै आएको छ । घटनापछि उक्त गाडीमा आगलागी हुनुको कारण र यसको प्राविधिक अवस्थाबारे चासो बढेको छ ।

सडकमा गुडिरहेको आयोन ब्रान्डको ईभी कारमा आगलागी, ‘गाडीकै कमजोरी देखियो’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*