नेटा-केवाईसी बन्द भएपछि सीजी मोटर्सलाई धक्काः ९ महिनामै आम्दानी २१% घट्यो, उपभोक्ता त्रसित

काठमाडौँ । चौधरी समूहअन्तर्गतको सीजी मोटर्स प्राइभेटको व्यापारमा धक्का लागेको छ । कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेका दुई सवारीको उत्पादन नै बन्द भएपछि कम्पनीको व्यापार खुम्चि रहेको हो ।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामै कम्पनीको आम्दानी ८ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनात्मक अवधिको आम्दानीको तुलनामा यो करिब २१ प्रतिशतको गिरावट हो ।
कम्पनीको व्यापारमा आइरहेको गिरावटको प्रमुख कारण नै दुई प्रमुख बिक्री हुने ब्रान्ड नेटा भी र केवाईसीको बिक्री बन्द हुनु हो । नेटा भीको बिक्री २०२५ को मे महिनादेखि तथा केवाईसीको बिक्री २०२६ को जनवरीदेखि बन्द गरिएको थियो । यी दुई ब्रान्डको कम्पनीको आम्दानीमा ठूलो योगदान रहेकाले तिनको बिक्री बन्द हुँदा समग्र कारोबारमै गम्भीर असर परेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा नेटा भी र केवाईसीले कम्पनीको कुल आम्दानीको करिब ६८ प्रतिशत हिस्सा ओगटेका थिए भने आर्थिक वर्ष २०८१/८२ मा पनि तिनको हिस्सा करिब २७ प्रतिशत रहेको थियो । यस्तो महत्वपूर्ण आम्दानी स्रोत गुमेपछि कम्पनीले त्यसको क्षतिपूर्ति गर्न सकेको देखिँदैन । फलस्वरूप आम्दानी खुम्चिनुका साथै कारोबारको आधारसमेत कमजोर बन्न पुगेको छ ।
यसको असर ग्राहकको विश्वासमा समेत परेको देखिन्छ । नेपालमा उल्लेख्य बिक्री भएका सवारीसाधनका ब्रान्डको कारोबार नै बन्द भएपछि ती सवारीसाधनका उपभोक्तामाझ सेवा केन्द्र, मर्मत तथा पाटपुर्जा उपलब्धताको विषयमा अन्योल बढेको छ । सवारीसाधन खरिद गर्ने ग्राहकका लागि बिक्रीपछिको सेवा, नियमित मर्मत र आवश्यक पाटपुर्जाको दीर्घकालीन उपलब्धता महत्वपूर्ण हुन्छ । तर बजारमा स्थापित भइसकेका ब्रान्डको कारोबार बन्द भएको घटनाले कम्पनीले भित्र्याउने नयाँ सवारीसाधनप्रतिको उपभोक्ता विश्वासमा समेत असर परेको छ । जस कारण सीजी मोटर्सको व्यापार खुम्चि रहेको हो ।
यसअघि सीजी मोटर्सले आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १५ अर्ब २ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ९९ करोड ८० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ५ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल आम्दानीमा दुईपांग्रे सवारीसाधनको हिस्सा करिब ३२ प्रतिशत थियो । गत आर्थिक वर्षको पहिलो नौ महिनामा यो हिस्सा बढेर करिब ५७ प्रतिशत पुगेको छ । सतहमा हेर्दा दुईपांग्रे व्यवसायको हिस्सा बढ्नु सकारात्मक जस्तो देखिए पनि यसले हराएको चारपांग्रे कारोबारको क्षतिपूर्ति पूर्ण रूपमा गर्न सकेको छैन । दुईपांग्रे सवारीसाधनबाट प्राप्त हुने नाफाको दर तुलनात्मक रूपमा कम हुने भएकाले कारोबारको संरचना दुईपांग्रेतर्फ मोडिँदै जानुले कम्पनीको नाफा क्षमतामा थप दबाब सिर्जना गरेको छ ।
आम्दानीसँगै कम्पनीको परिचालन नाफाको दरमा तीव्र गिरावटले आएको छ । आर्थिक वर्ष २०८०/८१ मा १५.१ प्रतिशत रहेको परिचालन नाफाको दर गत आर्थिक वर्षको पहिलो नौ महिनामा घटेर ६.८ प्रतिशतमा सीमित भएको छ । कम्पनीले आम्दानीको प्रत्येक रुपैयाँबाट पहिलेको तुलनामा निकै कम परिचालन नाफा निकालिरहेको छ । अटोमोबाइल बजारमा प्रतिस्पर्धा बढ्दै जाँदा बिक्री तथा वितरण खर्च बढ्नु र त्यही समयमा आम्दानी घट्नुले कम्पनीको नाफामाथि दोहोरो दबाब सिर्जना गरेको छ ।
आम्दानी र नाफा कमजोर बन्दा यसको असर ऋण तिर्ने क्षमतामा समेत परेको छ । सीजी मोटर्सको अर्को ठूलो जोखिम कार्यशील पुँजीमा देखिन्छ । उच्च मौज्दात र ग्राहक तथा ऋणीबाट रकम उठ्न लाग्ने लामो समयका कारण कम्पनीलाई दैनिक कारोबार सञ्चालन गर्न ठूलो कार्यशील पुँजी आवश्यक परेको छ । पछिल्ला अवधिमा कम्पनीको कार्यशील पुँजीको तीव्रता करिब ४५ देखि ४६ प्रतिशतसम्म पुगेको छ । कारोबार सञ्चालन गर्न ठूलो रकम निरन्तर व्यवसायमै अड्किएको छ । कम्पनीको आफ्नै आन्तरिक स्रोत पर्याप्त नभए बैंक ऋणमा निर्भर रहनु परेको छ ।
सन् २०२५ को जुलाईको मध्यतिर कम्पनीले बैंकबाट स्वीकृत ऋण सीमाको करिब १०५ प्रतिशतसम्म रकम प्रयोग गरेको थियो । पछि सन् २०२६ को अप्रिलको मध्यसम्ममा यो अनुपात केही सुधार हुँदै करिब ८८ प्रतिशतमा झरेको छ । आन्तरिक रूपमा सिर्जित रकम सञ्चित गरी प्रयोग गरेकाले यस्तो सुधार देखिए पनि यसलाई स्थायी वित्तीय सुधारका रूपमा लिन सकिने अवस्था छैन । आम्दानी पुनः बलियो नबनेसम्म कार्यशील पुँजीको चाप र बैंक ऋणमाथिको निर्भरता फेरि बढ्न सक्ने जोखिम कायमै छ ।
त्यसमाथि नेपाली सवारीसाधन बजारमा तीव्र रूपमा बढिरहेको प्रतिस्पर्धाले सीजी मोटर्सका लागि चुनौती झनै थपेको छ । विशेषगरी चीनबाट भित्रिएका विद्युतीय सवारीसाधनका नयाँ ब्रान्डले बजार विस्तार गरिरहेका छन् । चारपांग्रे क्षेत्रमा स्थापित तथा नयाँ ब्रान्डबीच प्रतिस्पर्धा चर्किएको छ भने दुईपांग्रे क्षेत्रमा बजाज, होन्डा, यामाहा र टिभिएसजस्ता स्थापित ब्रान्डसँग सीजी मोटर्सले भिड्नुपर्ने अवस्था छ ।
चौधरी ग्रुपले नेपालमा बेच्दै आएको नेटा ईभीको उत्पादन बन्द, सशंकित नेपाली उपभोक्ता
सीजी मोटर्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ४० करोड रुपैयाँ ऋण लिएको छ । इक्रा नेपालले कम्पनीको अल्पकालीन ऋण सीमाका लागि ‘ए फोर’ श्रेणीको ऋण मूल्यांकन प्रदान गरेको हो । सेप्टेम्बर २००९ मा स्थापना भएको सीजी मोटर्स प्रालिले जुलाई २०२२ देखि सवारीसाधनको आधिकारिक बिक्री तथा वितरणसम्बन्धी कारोबार सुरु गरेको हो।
सम्बन्धीत समाचारः
सडकमा गुडिरहेको आयोन ब्रान्डको ईभी कारमा आगलागी, ‘गाडीकै कमजोरी देखियो’









