आजदेखि १४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसनमा पुराना रिले हटाई नयाँ रिले जडान तथा परीक्षणको काम गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसनको ११ केभी प्यानलमा रिले रेट्रोफिट, एसएएस जडान तथा परीक्षणको काम गर्न लागेको हो ।
उक्त कार्यका कारण १३२ केभी टेकु सबस्टेसनबाट विद्युत आपूर्ति हुने विभिन्न वितरण केन्द्रअन्तर्गतका फिडरबाट आपूर्ति हुने क्षेत्रमा असोज ४ गतेदेखि चरणबद्ध रूपमा विद्युत सेवा अवरुद्ध वा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार असोज ४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा फरक–फरक समयमा विद्युत आपूर्ति प्रभावित हुनेछ ।
सबस्टेसनमा गरिने कामका क्रममा सम्बन्धित फिडरबाट आपूर्ति हुने क्षेत्रमा केही समय विद्युत अवरुद्ध हुने वा वैकल्पिक व्यवस्थामार्फत आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ । कामको प्रकृति र फिडरअनुसार विद्युत कटौती हुने समय फरक–फरक रहनेछ ।












