जीवन बीमकको औसत सोल्भेन्सी अनुपात १.८४ गुणा, कुन कम्पनीको जोखिमधारण क्षमता कस्तो?

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा सक्रिय कम्पनीहरूको वित्तीय सक्षमता र जोखिम बहन क्षमताको मापन गर्ने सोल्भेन्सी मार्जिन अनुपात अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा घटेको छ। एक वर्षको अन्तरालमा कम्पनीहरूको औसत सोल्भेन्सी मार्जिन २.३१ गुणाबाट ०.४७ गुणाले घटेर १.८४ गुणा कायम भएको हो।
कम्पनीहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार आईएमई लाइफ इन्स्योरेन्स २.५९ गुणा सोल्भेन्सी मार्जिन कायम गर्दै अग्रस्थानमा रहन सफल भएको छ। कम्पनीले अघिल्लो वर्षको २.२२ गुणाको तुलनामा ०.३७ गुणाले वृद्धि गर्दै अग्रस्थानमा रहन सफल भएको हो।
यता आईएमईलाई पछ्याउँदै रिलायबल नेपाल लाइफ २.५४ गुणा अनुपातका साथ दोस्रो स्थानमा रहेको छ। यद्यपि अघिल्लो आवको तुलनामा कम्पनीको यस्तो अनुपात १.०६ गुणाले घटेको हो। तेस्रोमा सन नेपाल लाइफले २.४३ गुणा र चौथोमा मेटलाइफले २.०८ गुणा सोल्भेन्सी अनुपात कायम गरेका छन्। यसरी चार कम्पनीहरूको सोल्भेन्सी २ गुणाभन्दा बढी रहेको छ।

त्यसपछि प्रभु महालक्ष्मीको १.९१ गुणा, सिटिजनको १.७३ गुणा, नेशनलको १.६६ गुणा, सूर्यज्योतिको १.६५ गुणा, एलआईसी नेपालको १.६१ गुणा, सानिमा रिलायन्सको १.५७ गुणा, नेपाल लाइफको १.५४ गुणा, एशियन लाइफको १.३३ गुणा र हिमालयन लाइफको १.८४ गुणा सोल्भेन्सी अनुपात कायम भएको छ। अघिल्लो आवमा सबैभन्दा ३.८६ गुणा रहेको हिमालयन लाइफ गत वर्षभने अन्त्यमा आइपुगेको हो।
वृद्धिदरको आधारमा हेर्ने हो भने चार कम्पनीको बढ्दा २ कम्पनीको समान छ भने ८ कम्पनीहरूको सोल्भेन्सी अनुपात अघिल्लो आवको तुलनामा गत आवमा घटेको छ। हिमालयनको २.५४ गुणा, सिटिजनको १.६९ गुणा, सूर्यज्योतिको १.३५ गुणा, रिलायबलको १.०६ गुणा, सन नेपालको ०.२० गुणा, प्रभु महालक्ष्मीको ०.०५ गुणा र एशियनको ०.०३ गुणाले सोल्भेन्सी अनुपात घटेको हो।
बीमा कम्पनीले आफ्ना सम्भावित दायित्वहरू पूरा गर्न पर्र्याप्त पूँजी तथा सम्पत्ति राखेको छ कि छैन भन्ने मापन गर्ने अनुपात नै सोल्भेन्सी मार्जिन अनुपात हो। नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूलाई सोल्भेन्सी अनुपात न्यूनतम १.३० गुणा (१३० प्रतिशत) कायम राख्न अनिवार्य गरेको छ। यस्तो अनुपात जति धेरै हुन्छ कम्पनी उती नै राम्रो मानिन्छ। सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले अडिट नगरेका कारण उल्लेख गरेको छैन।











