५४ अर्ब सम्पत्तिका मालिकले सडकमा बसेर भिख मागेपछि………

काठमाडौँ । भारतको महाराष्ट्रका सबैभन्दा धनी विधायकमध्ये एक मानिने भारतीय जनता पार्टी (भाजपा) का विधायक पराग शाहले हालै गरेको एउटा अनौठो प्रयोग चर्चामा आएको छ। करोडौँको सम्पत्तिका मालिक शाह सुरक्षा, महँगा गाडी र विलासी जीवनशैलीबाट केही समय टाढा रहेर भिखारीको भेषमा मुम्बईको घाटकोपरका सडकमा बसेका थिए। उनले एक दिन भिखारीका रूपमा बिताउँदै मानिसहरूसँग सहयोग मागेका थिए।
घाटकोपर पूर्वका विधायक शाह भिखारीको भेषमा सडकमा बसेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरै मानिस आश्चर्यमा परेका थिए। सुरुमा उनको यस्तो गतिविधिको कारणबारे विभिन्न अनुमान भइरहेका थिए। पछि भने उनले यो काम जैन आध्यात्मिक गुरु नम्रमुनिको सल्लाहमा गरेको खुलासा भएको हो।
जैन धार्मिक परम्परामा महत्वपूर्ण मानिने विशेष महिनाका क्रममा गुरुको सल्लाहअनुसार शाहले आफ्नो सुरक्षा टोली, गाडी तथा महँगा सामानबाट आफूलाई अलग राखेका थिए। आफ्नो वास्तविक पहिचान लुकाउन उनले मेकअपसमेत गरेका थिए। त्यसपछि भिखारीको जस्तै पहिरनमा घाटकोपरका विभिन्न स्थानमा पुगेर उनले कैयौँ घण्टा सडकछेउमा बिताए र मानिसहरूसँग सहयोग मागे।
आफ्नो अनुभव सुनाउँदै शाहले जीवनमा पद, प्रतिष्ठा र सम्पत्तिले मानिसप्रतिको व्यवहारमा पार्ने फरक आफूले प्रत्यक्ष अनुभव गरेको बताएका छन् । उनका अनुसार मानिसहरू सामान्य अवस्थामा आफूलाई भेट्न घण्टौँसम्म लाइनमा बस्ने गरे पनि भिखारीको रूपमा उनीहरूकै अगाडि पुग्दा परिस्थितिको सम्बन्ध नै फरक देखिएको थियो। यही अनुभवले आफूलाई जीवनको वास्तविकताको झलक दिएको शाहको भनाइ थियो।
भिखारीका रूपमा सडकमा बसेका क्रममा उनले मुम्बईका मानिसहरूको सहयोगी स्वभाव पनि अनुभव गरेको बताए। उनका अनुसार एक व्यक्तिले उनलाई २० रुपैयाँ दिँदै ‘जाऊ बाबा, खाना खाऊ’ भनेका थिए। त्यसपछि उनी नजिकैको समोसा पसलमा पुगे। पसलेले उनीसँग पैसा नलिई समोसा दिएको शाहले बताए।
मुम्बईजस्तो ठूलो सहरमा मानिसहरू एकअर्कालाई सहयोग गर्न तयार रहने गरेको आफूले प्रत्यक्ष अनुभव गरेको शाहको भनाइ थियो। उनले भिखारीको भेषमा रहँदा मानिसहरूले आफूलाई वास्तविक पहिचान नचिनी गरेको व्यवहारलाई पनि जीवनको महत्वपूर्ण अनुभवका रूपमा लिएका छन्।
शाहले भिखारी बनेर केवल सडकमा भीख माग्ने काम मात्रै गरेनन्, मानिसहरूले दिएको पैसा तथा खानेकुरा स्वीकार गर्दै भिखारीकै रूपमा सडकछेउमा बसेर समय बिताए। पछि उनले आफ्नो गुरु तथा अन्य व्यक्तिहरूसँग उक्त अनुभव साझा गरे।
मेकअप हटाएर आफ्नो वास्तविक रूपमै फर्किएपछि शाह फेरि त्यही स्थानमा पुगे, जहाँ उनी केही समयअघि भिखारीको भेषमा बसेका थिए। उनले त्यहाँ आफूले भोगेको अनुभवका क्रममा भेटेका मानिसहरूसँग पुनः कुराकानीसमेत गरे। भिखारीको भेषमा हुँदा र वास्तविक पहिचानमा हुँदा मानिसहरूको व्यवहारमा देखिएको अन्तरबारे सोच्ने अवसर आफूलाई यसबाट मिलेको उनले बताएका छन्।
रियल इस्टेट व्यवसायमा सक्रिय शाह राजनीतिमा आउनुअघि व्यवसायीका रूपमा परिचित थिए। उनी बृहन्मुम्बई महानगरपालिकाका नगरसेवकसमेत भइसकेका छन्। हाल उनी घाटकोपर पूर्वबाट महाराष्ट्र विधानसभाका भाजपा विधायक हुन्।
सन् २०२४ को महाराष्ट्र विधानसभा निर्वाचनका लागि बुझाएको शपथपत्रमा शाहले ३ हजार ३८३ करोड रुपैयाँ (नेपाली ५४ अर्ब ५ करोड) भन्दा बढीको सम्पत्ति घोषणा गरेका थिए। उक्त घोषणासँगै उनी त्यतिबेला महाराष्ट्र विधानसभा निर्वाचनका सबैभन्दा धनी उम्मेदवारका रूपमा चर्चामा आएका थिए।











