बंगालको खाडीमा शक्तिशाली बन्दै न्यून चापीय प्रणाली: मौसम विभाग

४ आश्विन २०८३, आईतवार १८:२७

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली थप बलियो बन्दै गएपछि त्यसको प्रभावस्वरूप नेपालमा वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै उक्त प्रणालीका कारण नेपालमा वर्षा हुनसक्ने जनाएको हो।

महाशाखाका अनुसार मौसम तथ्यांक, मौसम मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्यांकको विश्लेषण गर्दा बंगालको खाडीको पूर्वी भू–भाग, उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेको छ।

हालको प्रक्षेपणअनुसार उक्त प्रणाली आगामी असोज ७ गते आसपास थप शक्तिशाली बन्दै ‘डिप्रेसन’का रूपमा दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिकबाट जमिनतर्फ प्रवेश गर्ने देखिएको महाशाखाले जनाएको छ।

यस प्रणालीको प्रभावले नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिमको स्तर र त्यसबाट पर्न सक्ने सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको महाशाखाले स्पष्ट पारेको छ।

प्रणालीको गतिविधिमाथि विभागले निरन्तर निगरानी गरिरहेको जनाएको छ। मौसमको अवस्था र प्रणालीको थप विकासअनुसार आवश्यक सूचना तथा पूर्वानुमान अद्यावधिक गर्दै जाने विभागको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*