भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ को अडिट–३ बाट हालसम्म ३७ शव निकालियो

५ आश्विन २०८३, सोमबार १०:२६

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ क्षेत्रबाट थप १३ शव निकालिएको छ।

असोज ४ गते नेपाली सेना र आयोजनाको संयुक्त उद्धार टोलीले अडिट–३ बाट अपस्ट्रीम हेडरेस टनेलभित्र खोजी गर्ने क्रममा कन्क्रिटिङका लागि तयार पारिएको रिबारको जालमा अल्झिएका तथा हिलोमा ढल्किएको अवस्थामा १३ शव फेला पारेको हो।

थप १३ शव बाहिर निकालिएसँगै अडिट–३ क्षेत्रबाट हालसम्म उद्धार गरिएका शवको संख्या ३७ पुगेको आयोजनाले जनाएको छ। उद्धार गरिएका शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्बा स्वास्थ्य परिसरमा लगिएको छ। शवको पहिचान तथा सनाखत प्रक्रियाका लागि मृतकका परिवार तथा आफन्तलाई सहयोग गर्न आयोजनाले आग्रह गरेको छ।

आयोजनाका अनुसार बेपत्ताको खोजी तथा उद्धार कार्य अझै जारी छ। ग्राउन्ड सर्चका लागि सर्च डगको टोली परिचालन गरिएको छ भने आयोजनाको टनेलका दुवैतर्फ मिनी एक्साभेटर प्रयोग गरी खोजी तथा उद्धार कार्य समेत भइरहेको छ।

नेपाली सेना, प्रहरी तथा आयोजनाको संयुक्त टोलीले उपलब्ध स्रोत तथा प्रविधिको प्रयोग गर्दै टनेलभित्र र आसपासका क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। बाढीपछि आयोजनाको प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्भावित पीडितको खोजीलाई प्राथमिकतामा राखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*