भारी वर्षाको सम्भावना भएपछि वायुसेवाले भन्यो: ‘पूर्ण सुरक्षापछि मात्रै उडान गर्नु’

७ आश्विन २०८३, बुधबार १५:५४

काठमाडौँ । वायुसेवा सञ्चालक संघले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जनसहित हावाहुरी र भारी वर्षाको सम्भावना रहेकाले पूर्ण सुरक्षाको प्रत्याभूति गरेर मात्रै उडान सञ्चालन गर्न सदस्य वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ।

संघले बुधबार जारी गरेको सर्कुलरमा नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका केही स्थानमा समेत मेघ गर्जन, चट्याङ, हावाहुरी र भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ।

भारी वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै सहरी तथा तराई क्षेत्रमा डुबान र साना तथा ठूला नदीमा जल सतह बढ्न सक्ने विभागको पूर्वानुमान रहेको संघले जनाएको छ। यसका कारण नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

हिमाली क्षेत्रमा समेत भारी वर्षा र हिमपातको सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको संघले जनाएको छ।

संघका अध्यक्ष प्रतापजंग पाण्डेद्वारा जारी सर्कुलरमा असोज ९ देखि ११ गतेसम्म उडान सञ्चालन गर्दा मौसमको अवस्था र जोखिमलाई ध्यान दिई पूर्ण सुरक्षाको प्रत्याभूति गर्न सदस्य वायुसेवा कम्पनीहरूलाई अनुरोध गरिएको छ।

वर्षाका कारण बाढी, पहिरो वा भूक्षयको जोखिम उत्पन्न भएमा तत्काल उद्धार कार्य सञ्चालन गर्न सक्ने गरी सदस्य वायुसेवा कम्पनीहरूलाई ‘स्ट्यान्डबाई’ अवस्थामा रहनसमेत संघले आग्रह गरेको छ। साथै, मौसमसम्बन्धी विस्तृत जानकारीका लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइटबाट नियमित सूचना लिन संघले वायुसेवा कम्पनीहरूलाई अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*