बाढीपहिरोले माउण्टेन र दरमखोला हाइड्रो इनर्जीको विद्युत उत्पादन र प्रसारण ठप्प

१३ आश्विन २०८३, मंगलवार १०:०८

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोले प्रसारण संरचनामा क्षति पुर्‍याउँदा म्याग्दी र बाग्लुङमा रहेका दुई जलविद्युत आयोजनाको विद्युत उत्पादन तथा प्रसारण रोकिएको छ। म्याग्दीको ४२ मेगावाट क्षमताको मिष्ट्री खोला र बाग्लुङको ९.६ मेगावाटको दरमखोला आयोजनाबाट विद्युत आपूर्ति अवरुद्ध भएको जानकारी सम्बन्धित कम्पनीहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएका छन्।

माउण्टेन इनर्जी नेपाल लिमिटेडले सञ्चालन गरिरहेको मिष्ट्री खोला आयोजनाको विद्युत प्रसारण कालीगण्डकीमा आएको बाढीपहिरोका कारण प्रभावित भएको हो। अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने दाना–कुश्मा २२० केभी प्रसारण लाइनको टावरमा क्षति पुगेपछि उत्पादन गरिएको विद्युत बाहिर पठाउन नसकिएको कम्पनीले जनाएको छ।

यस्तै, दरमखोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङस्थित ९.६ मेगावाट आयोजनामा पनि बाढीका कारण प्रसारण संरचना क्षतिग्रस्त भएको छ। आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेसनसम्म रहेको ३३ केभी लाइनका पोल तथा तारमा क्षति पुगेपछि असोज ९ गते रातिदेखि विद्युत उत्पादन र प्रसारण दुवै बन्द भएको कम्पनीले जनाएको छ।

दरमखोला आयोजनाका मुख्य संरचना, पावरहाउस र हेडवर्क्समा भने ठूलो क्षति नपुगेको कम्पनीको भनाइ छ। प्रसारण लाइनमा देखिएको समस्या समाधान गरी संरचना पुनः सञ्चालनयोग्य बनाएपछि विद्युत उत्पादन सुरु गरिने जनाइएको छ। मिष्ट्री खोला आयोजनाको हकमा पनि प्रसारण टावर मर्मत गरी लाइन सञ्चालनमा आएपछि विद्युत आपूर्ति पुनः नियमित हुने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*