लाभांशको मौका: यी ४ कम्पनीको शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत चार कम्पनीको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १४ गते बुकक्लोज गर्दैछन्।
त्यसैले असोज १३ गतेसम्म शेयर कारोबार गरी कायम हुने लगानीकर्ता मात्र सम्बन्धित कम्पनीको प्रस्तावित लाभांश र साधारणसभामा सहभागी हुने अधिकारका लागि योग्य हुनेछन्।
रिलायन्स स्पिनिङ मिल्सले सबैभन्दा बढी ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीले करिब ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
त्यस्तै, गरिमा विकास बैंकले कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
नबिल बैंकले १५.८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश रहेको छ।
यस्तै, निफ्राले ५.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीका आधारमा करिब १ अर्ब १३ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।











