इटहरीबाट सुरु भयो ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोडिँदै

१४ आश्विन २०८३, बुधबार १४:५१

काठमाडौँ । सरकारले युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गरेको छ। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा घोषित ‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’ लाई व्यवहारमा उतार्न यो मेला सञ्चालनमा ल्याइएको हो।
​युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित उक्त मेला आगामी असोज २० गतेसम्म चल्नेछ। मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी उहाँहरूलाई रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष रूपमा जोड्नु रहेको छ। मेलाका क्रममा युवालाई उद्यमशीलताप्रति आकर्षित गर्ने लक्ष्यका साथ ‘आजको युवा, भोलिको उद्यमी: सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफलसमेत सञ्चालन गरिनेछ।
​यसैगरी, मेला अवधिभर तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप परीक्षण तथा अभिलेखीकरण (सीप प्रोफाइलिङ), रोजगारदाता र तालिम प्रदायक संस्थाको परिचयात्मक कार्यक्रमका साथै एकीकृत सूचना तथा परामर्श सेवाहरू प्रवाह गरिनेछ। चालू आर्थिक वर्षमा कोशी प्रदेशको इटहरीबाट प्रारम्भ गरिएको यो मेलालाई सरकारले क्रमशः अन्य सबै प्रदेशहरूमा विस्तार गर्दै लैजानेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*