वैकल्पिक विकास वित्त कोषको सीईओका लागि आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न इच्छुक योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले वैकल्पिक विकास वित्त कोष सञ्चालन ऐन, २०८३ को दफा १९ को उपदफा (४) तथा प्रमुख कार्यकारी अधिकृत पदका लागि उम्मेदवार छनोटसम्बन्धी कार्यविधि, २०८३ बमोजिम योग्य व्यक्तिबाट आवेदन माग गरेको हो ।
सीईओ पदका लागि उम्मेदवार नेपाली नागरिक वा नेपालमा स्थायी आवासीय अनुमति प्राप्त विदेशी नागरिक हुनुपर्नेछ । उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, मान्यता प्राप्त शिक्षण संस्थाबाट वित्त विश्लेषण, अर्थशास्त्र, व्यवस्थापन वा वाणिज्यशास्त्र, सार्वजनिक विकास प्रशासन, वाणिज्य कानुन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
उम्मेदवारसँग पूर्वाधार संरचना, आयोजना निर्माण तथा विकास, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापन वा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्र वा संस्थामा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव पनि आवश्यक पर्नेछ ।
मन्त्रालयका अनुसार उम्मेदवारले कोषसँग सम्बन्धित कार्यका लागि उच्च नैतिक चरित्र कायम गरेको हुनुपर्नेछ । साथै, प्रमुख कार्यकारी अधिकृत पदका लागि उम्मेदवार छनोटसम्बन्धी कार्यविधिको दफा ६ बमोजिम अयोग्य नभएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
योग्य उम्मेदवारले तोकिएको प्रक्रिया पूरा गरी मन्त्रालयमा दरखास्त पेस गर्नुपर्नेछ ।











