ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि काठमाडौं महानगर र दुई स्वास्थ्य संस्थाबीच सम्झौता

१६ आश्विन २०८३, शुक्रबार १०:३५

काठमाडौँ ।  काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषद्सँग सम्झौता गरेको छ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौतामा महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले हस्ताक्षर गरेकी छन्। त्यस्तै, छत्रपाटी निःशुल्क चिकित्सालयका तर्फबाट अध्यक्ष डा. मनोजमान श्रेष्ठ र सामुदायिक स्वास्थ्य परिषद्का तर्फबाट उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि धारणा राख्दै कार्यवाहक प्रमुख डंगोलले ज्येष्ठ नागरिकलाई सहज र सरल स्वास्थ्य सेवा उपलब्ध गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन्। उनले अस्पतालमा पहिलोपटक स्वास्थ्य जाँच गराउने ज्येष्ठ नागरिकको संख्या पनि कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्ने महत्वपूर्ण सूचक हुने बताइन्।

“अस्पताल आउने गर्नु भएका ज्येष्ठ नागरिकको सेवालाई अझ सहज र सरल बनाउँदै लैजानु पर्छ,” डंगोलले भनिन्, “रोग सहेर घरमै बसिरहने ज्येष्ठ नागरिकलाई अस्पतालसम्म ल्याउनु चाहिँ कार्यक्रम प्रभावकारिताको मूल्याङ्कन सूचक हो।”

उनले अस्पतालसम्म आउन नसक्ने तथा घरबाट बाहिर निस्कन कठिनाइ हुने ज्येष्ठ नागरिकलाई समेत स्वास्थ्य सेवाको पहुँचमा ल्याउनुपर्नेमा जोड दिइन्। “धेरैभन्दा धेरै र घरबाट बाहिर ननिस्कने ज्येष्ठ नागरिकहरुलाई सहज स्वास्थ्य सेवा प्रदान गर्नु नै कार्यक्रमको मूल्याङ्कन सूचक हो,” उनले भनिन्।

महानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सुधारसँगै उनीहरूलाई समयमै स्वास्थ्य परीक्षण तथा उपचारको पहुँचमा पुर्‍याउने उद्देश्यले निःशुल्क उपचारको व्यवस्था गरेको जनाएको छ। सम्झौतापछि सम्बन्धित स्वास्थ्य संस्थामार्फत ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार सेवा प्राप्त गर्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*