सहकारी ठगी: १२ जनाविरुद्ध ३५ दिने पक्राउ पुर्जी

काठमाडौं । काठमाडौं जिल्ला अदालतले विभिन्न कसुरमा संलग्न रहेको आरोप लागेका १२ जनाको नाममा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।
यसअघि अदालतबाट जारी भएको पक्राउ आदेश कार्यान्वयन हुन नसकेका तथा सम्बन्धित व्यक्तिको ठेगाना यकिन हुन नसकेका अवस्थामा अदालतले उनीहरूलाई तोकिएको अवधिभित्र अदालतमा उपस्थित हुन सूचना जारी गरेको हो ।
अदालतका अनुसार सहकारी ठगीसम्बन्धी मुद्दामा ज्ञान श्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष युवराज घलेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यस्तै, अष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्बन्धित मुद्दामा सञ्चालक समिति तथा लेखा समितिमा रहेका पदाधिकारीसहित १० जनाको नाममा पनि पक्राउ पुर्जी जारी गरिएको छ ।
पक्राउ पुर्जी जारी हुनेमा अष्ट सहकारीका सञ्चालक समिति सदस्य प्रकाश खड्का, लेखा समिति सदस्य सुवास बुढाथोकी र बविता खड्का, अध्यक्ष अनिल खड्का, उपाध्यक्ष विजय खड्का, सचिव जीवन बुढाथोकी, कोषाध्यक्ष कुम्भराज जोशी, सदस्य सुशिल विक्रम राणा, सञ्चालक समिति सदस्य शुशिला बोहरा तथा लेखा समिति संयोजक गोविन्द बुढाथोकी रहेका छन् ।
यसैगरी चोरीसम्बन्धी विभिन्न कसुरमा चन्द्रागिरि नगरपालिका–१४, नैकापका सुशान्त खत्री भनिने राज रोक्का अर्थात् राकुमार रोकाविरुद्ध पनि ३५ दिने पक्राउ पुर्जी जारी गरिएको अदालतले जनाएको छ ।
अदालतले पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र आफैँ अदालतमा उपस्थित हुन वा पक्राउ परेर अदालतमा हाजिर हुन भनेको छ । उक्त अवधिमा उपस्थित नभई म्याद गुजारेमा कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने अदालतले स्पष्ट पारेको छ ।











