दशैं-तिहारका लागि अग्रिम टिकट बुकिङ खोल्ने तयारी, यातायात विभागले बोलायो बैठक

काठमाडौं । नजिकिँदै गरेका दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायहरूको बैठक बोलाएको छ ।
चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने तथा बाहिरी जिल्लाबाट काठमाडौँ उपत्यका भित्रिने यात्रुहरूको यात्रा सहज र सुरक्षित बनाउने उद्देश्यले अग्रिम टिकट बुकिङ खुलाउने विषयमा निर्णय गर्न बैठक बोलाइएको विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाकी अधिकृत प्रतिमा ढकालले हस्ताक्षर गरेको पत्रअनुसार बैठक असोज २० गते मंगलबार बिहान ११ बजे विभागको मीनभवनस्थित सभा हलमा बस्नेछ ।
बैठकमा प्रहरी प्रशासन, यातायात व्यवसायी तथा मजदुर संगठनका प्रतिनिधिहरूलाई सहभागी हुन विभागले पत्राचार गरेको छ ।












