१४ वर्षे बीमा यात्रामा लक्ष्मी केसीको नवौँ एमडिआरटी सफलता

काठमाडौँ । एलआईसी नेपाल भैरहवा शाखामा विगत १४ वर्षदेखि कार्यरत अभिकर्ता लक्ष्मी केसीले आफ्नो व्यावसायिक यात्रामा अर्को महत्वपूर्ण सफलता हासिल गरेकी छन्। केसीले हालसम्म नवौँ पटक एमडिआरटी (मिलियन डलर राउन्ड टेबल) उपलब्धि हासिल गर्न सफल भएकी हुन्।
ग्राहकको विश्वास र निरन्तर मेहनतलाई आफ्नो सफलताको मुख्य आधार मान्दै आएकी केसीले सन् २०२१ मा सीओटी (कोर्ट अफ द टेबल) समेत हासिल गरेकी थिइन्। त्यस्तै, एलआईसी नेपालको सर्वोच्च क्लबमध्ये एक चेयरम्यान्स क्लब मा सन् २०१८ देखि निरन्तर सफलता हासिल गर्दै आएकी छन्।
भैरहवा शाखाबाट पछिल्ला दुई वर्षदेखि एकल एमडिआरटी हासिल गर्दै आएकी केसीले आफ्नो व्यावसायिक उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि बीमा सचेतना विस्तार गर्ने अभियानका रूपमा लिएकी छन्। उनका अनुसार जीवन बीमा केवल भवितव्यमा आइपर्ने आर्थिक जोखिम व्यवस्थापन गर्ने माध्यम मात्र नभई नियमित बचत गर्ने बानीको विकास, परिवारको आर्थिक सुरक्षा र भविष्यको योजनाबद्ध तयारी गर्ने महत्वपूर्ण माध्यम पनि हो।
“बीमा क्षेत्रमा जोडिने प्रत्येक अभिकर्ताको सपना एमडिआरटी हासिल गर्नु हुन्छ। आफूले पनि पटक–पटक एमडिआरटी हासिल गर्न पाउँदा अत्यन्तै खुसी र गर्व महसुस हुन्छ। तर मेरो लागि यो उपलब्धिभन्दा पनि ग्राहकलाई बीमाको महत्व बुझाउन र परिवारको भविष्य सुरक्षित बनाउन सहयोग गर्न पाउनु ठूलो सन्तुष्टि हो,” केसीले भनिन्।
पछिल्लो समय नेपालमा हजारौँ अभिकर्ता जीवन बीमा क्षेत्रमा सक्रिय छन्। केसीले भने आफ्नो व्यावसायिक कामसँगै अनलाइन तथा सामाजिक सञ्जालमार्फत बीमा सचेतनामूलक भिडियो तथा सामग्री उत्पादन गर्दै आएकी छन्। उनका सामग्रीले ग्राहकलाई बीमाको महत्व बुझाउन मात्र नभई नयाँ तथा पुराना अभिकर्तालाई पनि आफ्नो पेशाप्रति थप प्रेरित हुन सहयोग पुगेको उनको भनाइ छ।
अनलाइन माध्यमबाट निरन्तर बीमा सचेतना फैलाउँदै आएकी केसीले आफ्ना भिडियो तथा सामग्रीमार्फत धेरै ग्राहकको विश्वास जित्न सफल भएको बताइन्छ। साथै, उनका सामग्रीबाट प्रेरित भएर धेरै व्यक्तिहरू बीमा अभिकर्ता पेशामा जोडिएको उनको अनुभव छ।
“बीमाको महत्व बुझाउँदै, परिवारको आर्थिक सुरक्षाका लागि सही योजना बनाउन ग्राहकलाई सहयोग गर्दै र समाजमा बीमा सचेतना फैलाउँदै लामो समयसम्म काम गर्न पाउनु नै मेरो लागि सबैभन्दा ठूलो खुसी हो,” केसीले भनिन्।

समाजशास्त्र तथा व्यवस्थापन विषयमा दुईवटा डिग्री हासिल गरेकी केसीले आफ्नो शैक्षिक ज्ञानलाई व्यवहारिक रूपमा प्रयोग गर्दै बीमा क्षेत्रलाई पेशासँगै सेवाको माध्यमका रूपमा अघि बढाइरहेकी छन्। ग्राहकको आवश्यकता बुझेर उपयुक्त बीमा योजना छनोट गर्न सहजीकरण गर्नु, नियमित बचतको संस्कार विकास गराउनु र परिवारको भविष्यलाई आर्थिक रूपमा सुरक्षित बनाउन सहयोग गर्नु आफ्नो मुख्य उद्देश्य रहेको उनी बताउँछिन्।
एलआईसी नेपालमा लामो समयदेखि सक्रिय केसीको निरन्तर एमडिआरटी सफलता, चेयरम्यान्स क्लबमा निरन्तरको उपलब्धि तथा बीमा सचेतनामूलक डिजिटल अभियानले उनलाई भैरहवा शाखाकी सफल तथा प्रेरणादायी अभिकर्ताका रूपमा स्थापित गरेको छ।
केसीको नवौँ एमडिआरटी सफलताले बीमा क्षेत्रमा कार्यरत नयाँ पुस्ताका अभिकर्तालाई समेत निरन्तर मेहनत, ग्राहकको विश्वास र सेवामुखी सोचका साथ अघि बढ्न प्रेरणा दिने विश्वास गरिएको छ।











