आजदेखि सस्तो इन्टरनेट प्याकेज बन्द, सेवा प्रदायकले दियो यस्तो कारण

काठमाडौं । नेपालका इन्टरनेट सेवा प्रदायकहरूले सस्तो मूल्यमा उपलब्ध हुँदै आएका कम गतिको इन्टरनेट प्याकेज हटाएका छन्। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईस्पान) ले आज असोज १९ गतेदेखि त्यस्ता प्याकेज उपलब्ध नगराउने जनाएको हो।
आईस्पानका अनुसार पछिल्लो १२ वर्षमा नेपालमा इन्टरनेटको पहुँच र प्रयोग उल्लेख्य रूपमा विस्तार भएको छ। फिक्स्ड ब्रोडब्यान्डको पहुँच तथा मूल्यका हिसाबले नेपाल दक्षिण एसियाकै तुलनात्मक रूपमा सस्तो बजारमध्ये पर्ने उसको दाबी छ।
तर पछिल्लो समय इन्टरनेट सेवा सञ्चालनको लागत निरन्तर बढ्दै गएको भन्दै आईस्पानले सस्तो तथा कम गतिको प्याकेजलाई निरन्तरता दिन कठिन भएको जनाएको छ।
आईस्पानका अनुसार पछिल्ला वर्षमा भएको मूल्यवृद्धि, मध्यपूर्वमा देखिएको तनावका कारण बढेको इन्धनको लागत, फाइबरको मूल्यवृद्धि तथा उच्च मुद्रास्फीतिले इन्टरनेट सेवा प्रदायकको सञ्चालन खर्च बढाएको छ।
त्यसैगरी, कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारसँगै इलेक्ट्रोनिक उपकरण तथा चिपसेटको मूल्यमा समेत उल्लेख्य वृद्धि भएको आईस्पानले जनाएको छ।











