दशैं–तिहारका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय

काठमाडौँ । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सरकारले असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ।
यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाहरूको बैठकले देशभर लामो तथा मध्यम दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गर्ने निर्णय गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिए।
लगातारको वर्षा तथा बाढीपहिरोका कारण अवरुद्ध भएका मुख्य राजमार्ग सरकारले तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालन सहज बनाउने प्रतिबद्धता जनाएपछि व्यवसायीहरू अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका हुन्।
दसैँ, तिहार तथा छठका समयमा ठूलो संख्यामा यात्रु उपत्यकाबाट विभिन्न जिल्ला जाने भएकाले यात्रुको सहजताका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको हो।
बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।











