वर्षदिनमा केआईसिंह गाउँपालिकाले पदाधिकारी सुविधामै ७६ लाख खर्च

काठमाडौँ । डोटीको केआईसिंह गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीभन्दा डेढ गुणाभन्दा बढी रकम पदाधिकारी सुविधामा खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले गाउँपालिकाले पदाधिकारी सुविधामा आन्तरिक आयको तुलनामा अत्यधिक रकम खर्च गरेको औँल्याएको हो ।
प्रतिवेदनअनुसार गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा पदाधिकारी सुविधाबापत ७६ लाख २२ हजार १८० खर्च गरेको छ । सोही अवधिमा गाउँपालिकाको आन्तरिक आय भने ४९ लाख ४२ हजार ३०२ रुपैयाँ ७४ पैसा मात्र रहेको छ ।
गाउँपालिकाले आन्तरिक रूपमा संकलन गरेको आयको तुलनामा पदाधिकारी सुविधामा गरेको खर्च १५४.२२ प्रतिशत हुन आएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । अर्थात् गाउँपालिकाको कुल आन्तरिक आयभन्दा पदाधिकारी सुविधामा मात्रै करिब २६ लाख ७९ हजार ८७७ बढी खर्च भएको देखिन्छ ।
स्थानीय तहले आफ्नो स्रोत र आम्दानीको अवस्था हेरेर चालु खर्चलाई व्यवस्थित तथा मितव्ययी बनाउनुपर्ने भए पनि केआईसिंह गाउँपालिकामा पदाधिकारी सुविधाको खर्च आन्तरिक आयभन्दा उल्लेख्य रूपमा बढी देखिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ मा प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा खर्चमा नियमितता, मितव्ययिता, कार्यदक्षता र औचित्य कायम राख्न आवश्यक व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ ।
तर, गाउँपालिकाको आन्तरिक आयको आकार र पदाधिकारी सुविधामा भएको खर्चबीच ठूलो अन्तर देखिएको भन्दै महालेखा परीक्षकले खर्च व्यवस्थापनमा ध्यान दिन सुझाव दिएको छ ।
के आई सिंह गाउँपालिकामा एक वर्षमै भ्रमणमा साढे २० लाख खर्च, खाजा-खानामा २६ लाख स्वाहा











