ओखलढुंगामा जिप दुर्घटना, एक वर्षीय बालकसहित ९ जना घाइते

काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कमा जिप दुर्घटना हुँदा एक वर्षीय बालकसहित ९ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आज बिहान करिब ७ः१५ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ स्थित लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको जिप दुर्घटनामा परेको हो । निशंखे–ओखलढुंगा भित्री कच्ची सडकखण्डमा गुडिरहेको उक्त जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिद्धिचरण नगरपालिका–२ का ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, ७ वर्षीय आयुश मंग्राती, ७ वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, उनका ६ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती घाइते भएका छन् ।
दुर्घटनालगत्तै प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पठाएको जनाएको छ ।











