नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा बस्दै

काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा हुँदैछ। कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा हुन लागेको बैठकलाई दुई देशबीचको सम्बन्धका विभिन्न पक्षको समीक्षा र सहकार्य विस्तारका लागि महत्वपूर्ण मानिएको छ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नेछन् भने नेपाल भ्रमणमा रहेका रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले रुसी टोलीको नेतृत्व गर्नेछन्। बैठकमा नेपाल–रुस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्दै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति र प्राविधिक सहयोगका क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल हुनेछ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषय र बहुपक्षीय मञ्चमा दुई देशबीचको सहकार्यबारे पनि विचार आदानप्रदान हुनेछ।
नेपाल र रुसबीच नियमित रूपमा द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने उद्देश्यले सन् १९९५ मा परामर्शसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। त्यसअनुसार पहिलो बैठक सन् २००७ मा मस्कोमा र दोस्रो बैठक सन् २०१८ अप्रिल १७ मा काठमाडौंमा भएको थियो।
बैठकअघि मंगलबार काठमाडौंस्थित रुसी दूतावासले आयोजना गरेको ओपन डाइलगमा उपविदेशमन्त्री रुडेन्कोले नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै रुस आफ्नो क्षमताअनुसार नेपाललाई सहयोग गर्न तयार रहेको बताएका थिए। उनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा उठाएको विषयको समेत प्रशंसा गरेका थिए।
रुडेन्कोले आगामी शैक्षिक वर्षमा नेपाली विद्यार्थीका लागि रुसमा उच्च शिक्षा अध्ययन गर्न ५२ वटा छात्रवृत्ति कोटा उपलब्ध गराउने जानकारीसमेत दिएका छन्। शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलाई नेपाल–रुस सम्बन्धको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै उनले यी क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसपटकको छलफलमा नेपालले रुसी सेनामा भर्ती भएका नेपाली नागरिकको विषयलाई पनि उठाउने तयारी गरेको छ। रुसी सेनामा रहेका नेपालीको अवस्था, बेपत्ता तथा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति र सम्बन्धित समस्याको समाधानका विषयमा नेपाली पक्षले रुसी प्रतिनिधिमण्डलसँग छलफल गर्नेछ।











