बाढीपहिरोले तीन प्रमुख सडक अझै अवरुद्ध

काठमाडौं । बाढी र पहिरोका कारण रसुवा–नुवाकोट, मनाङ र म्याग्दीका प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएपछि रसुवाको स्याप्रुबेशीसम्म पुग्न भने वैकल्पिक कच्ची सडक प्रयोग गर्न सकिने भएको छ।
गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली बजार र बेत्रावती हुँदै रसुवागढी नाकासम्म जाने पासाङ ल्हामु राजमार्गको अधिकांश भाग त्रिशूली नदीले कटान गरेको थियो। त्यसपछि उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
स्याप्रुबेशीसम्म पुग्न काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले–० किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याप्रुबेशीसम्म पुग्ने सिंगल लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिनेछ।
त्यस्तै मनाङमा लगातारको वर्षापछि आएको बाढीका कारण बेँसीसहर हुँदै खाङसार जाने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। गत असोज ९ गते बिहानदेखि सडकमा बाढी आएपछि उक्त सडकखण्डमा यातायात सञ्चालन हुन नसकेको हो।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा सडक माथिबाट लेदोमाटोसहितको पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। असोज १० गते बिहान पहिरो खसेपछि उक्त सडकमा आवागमन रोकिएको प्रहरीले जानकारी दिएको छ।











