बिजुलीको बिल तिर्न ७३ प्रतिशत नागरिक काउन्टरमै पुग्छन्, डिजिटल भुक्तानी बढाउन आग्रह

२२ आश्विन २०८३, बिहीबार १४:१९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका अनुसार विद्युत महसुल तिर्ने करिब ७३ प्रतिशत नागरिक अझै भौतिक रूपमा काउन्टरमै पुग्ने गरेका छन्। प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गत ६५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन्।

यी काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले बताएका छन्। उनका अनुसार काउन्टर सञ्चालनको मासिक खर्च करिब ५ करोड रुपैयाँ पर्छ।

मन्त्री श्रेष्ठले नागरिकलाई विद्युत महसुल डिजिटल माध्यमबाट तिर्न प्रोत्साहित गर्न आग्रह गरेका छन्। डिजिटल भुक्तानीबाट नागरिकको समय र आवतजावत खर्च बचत हुनुका साथै नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा बढ्ने उनको भनाइ छ।

उनले विशेषगरी डिजिटल भुक्तानी गर्न नजान्ने ज्येष्ठ नागरिक तथा अभिभावकलाई परिवारका सदस्यले सिकाउन आग्रह गरेका छन्। काउन्टरमा लाग्ने स्रोत र जनशक्तिलाई अन्य ग्राहक सेवामा प्रयोग गर्न सकिने भएकाले डिजिटल भुक्तानीलाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*