घुस सहित समातिएका माछापोखरीका नापी अधिकृतविरुद्ध मुद्दा, १० लाख रुपैयाँ बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको माछापोखरीस्थित नापी कार्यालयका नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध १० लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार वलीले छुट जग्गा दर्तासम्बन्धी फाइल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाइदिने र दर्ताको काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस मागेका थिए। घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा वलीले छुट जग्गा दर्ताको सिफारिससहितको फाइल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालयमा पठाउने र दर्ताको काममा सहजीकरण गर्ने भन्दै १० लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर कायम गर्दै वलीसँग १० लाख रुपैयाँ बिगो माग गरेको छ। साथै सोही ऐनअनुसार कैद तथा बिगो बराबर जरिवानाको सजाय मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।











