ट्रायल नै नदिएका १३ जनालाई लाइसेन्स वितरण, तत्कालीन कार्यालय प्रमुखदेखि डीएसपीमाथि मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचार गरी सवारी चालक अनुमतिपत्र वितरण गरेको आरोपमा ७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार कार्यालयका तत्कालीन प्रमुख तेजनारायण यादवसहित कर्मचारी र ट्राफिक प्रहरीको मिलेमतोमा लिखित तथा प्रयोगात्मक परीक्षा नदिएका व्यक्तिलाई समेत सवारी चालक अनुमतिपत्र जारी गरिएको थियो। अनुसन्धानका क्रममा जापानमा रहेका एक व्यक्तिसहित १३ जनाको नाममा अनियमित रूपमा लाइसेन्स जारी गरिएको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका अनुसार लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी नै नभएका व्यक्तिलाई परीक्षा उत्तीर्ण भएको अभिलेख बनाएर लाइसेन्स दिइएको थियो। यस्तै लिखित परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिको परीक्षाफलसमेत अभिलेखमा सच्याएर उत्तीर्ण भएको देखाई प्रयोगात्मक परीक्षा दिएको झुट्टा विवरण तयार पारिएको थियो।
यसरी ३ जनालाई जे–१ र ४ जनालाई जे–२ वर्गको लाइसेन्स जारी गरिएको तथा लिखित परीक्षामा सहभागी नभएका थप ५ जनालाई जे–१ वर्गको लाइसेन्स दिइएको अख्तियारले जनाएको छ। अनुसन्धानबाट सरकारी अभिलेखमा अनधिकृत रूपमा केरमेट, थपघट तथा हेरफेर गरी परीक्षाको नतिजासमेत परिवर्तन गरिएको देखिएको आयोगको भनाइ छ।
आयोगले यातायात व्यवस्था कार्यालय रूपन्देहीका तत्कालीन प्रमुख तेजनारायण यादव, मेकानिकल सुपरभाइजर यादवप्रसाद अर्याल, अधिकृत तुल्सिराम अधिकारी र अधिकृत राजीव अर्याल तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्ली नारायण पाण्डेय, प्रहरी निरीक्षक (इन्सपेक्टर) गणेश ज्ञवाली र प्रहरी नायब निरीक्षक (सई) हुमानन्द खनालविरुद्ध मुद्दा चलाएको हो।











