सुपरमाई हाइड्रोपावरलाई ५९ करोड ४० लाख रुपैयाँको हकप्रद शेयर निष्कासन गर्न स्वीकृति

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले ५९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति पाएको छ। विद्युत् नियमन आयोगले कम्पनीलाई बैंकको ऋण भुक्तानी गर्ने प्रयोजनका लागि मात्रै हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो।
आयोगको असोज १९ गते बसेको ३२२औँ बैठकको निर्णयअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी ६४ करोड २० लाख रुपैयाँको करिब १ः०.९२५२ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न सक्नेछ। यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५९ लाख ४० हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ।
इलाम जिल्लामा ७.८ मेगावाट क्षमताको सुपरमाई जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले यसअघि चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि पूर्वस्वीकृति मागेको थियो। कम्पनीले हकप्रद शेयरबाट प्राप्त रकममध्ये ५१ करोड ४० लाख रुपैयाँ नबिल बैंकको ऋण तिर्न र बाँकी ४ करोड ८० लाख रुपैयाँ मेसिनरी उपकरणको मर्मतसम्भारमा खर्च गर्ने प्रस्ताव गरेको थियो।
तर मर्मतसम्भारमा खर्च गर्ने प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न नदिने आयोगको अभ्यासअनुसार बैंकको ऋण भुक्तानीका लागि आवश्यक रकम बराबरको शेयर निष्कासन गर्न मात्रै स्वीकृति दिइएको हो। त्यसैले कम्पनीले प्रस्ताव गरेअनुसारको १ः१ अनुपातमा नभई १ः०.९२५२ अनुपातमा हकप्रद शेयर जारी गर्न पाउने भएको छ।











