बुढीगण्डकीमा आएको बाढीले विकास हाइड्रोपावरको माथिल्लो माछाखोला आयोजना बन्द

काठमाडौं । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा सञ्चालित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको प्रसारण लाइनमा ठूलो क्षति पुर्याएको छ । प्रसारण लाइनमा क्षति पुगेपछि आयोजना पूर्ण रूपमा बन्द भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार २०८३ असोज २५ गते बिहान बुढीगण्डकी नदीमा अचानक आएको भीषण बाढीका कारण आयोजनाको प्रसारण लाइनमा क्षति पुगेको हो । बाढीबाट भएको क्षतिको यकिन विवरण भने हालसम्म प्राप्त हुन सकेको छैन ।
प्रसारण लाइनको क्षतिको अवस्था, मर्मतसम्भारमा लाग्ने समय तथा विद्युत उत्पादन पुनः सञ्चालन गर्न सकिने मितिबारे अहिले नै निश्चित गर्न नसकिने कम्पनीले जनाएको छ । यससँगै आयोजनाको विद्युत उत्पादन अनिश्चितकालका लागि प्रभावित भएको छ ।
हिन्दुहरूको महान् चाड दसैँ नजिकिँदै गरेको अवस्थामा आवश्यक जनशक्ति परिचालन, मर्मतसम्भारका सामग्री व्यवस्थापन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र मर्मतमा थप चुनौती आउन सक्ने कम्पनीको भनाइ छ ।











