तीन दिन देशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

२८ आश्विन २०८३, बुधबार ०८:१३

काठमाडौं । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहँदा आगामी तीन दिन हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमानअनुसार तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ।

आज बुधबार हिमाली क्षेत्रका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

भोलि बिहीबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा वर्षा र हिमपात हुन सक्नेछ। त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। राति हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

शुक्रबार पनि हिमाली क्षेत्रका केही स्थान तथा कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ। अन्य पहाडी क्षेत्रमा समेत एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ। शुक्रबार राति कोशी प्रदेशको तराईसहित देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई तथा उपत्यकाका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्नेछ। मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्न मौसम पूर्वानुमानले सुझाव दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*