चाडपर्वमा शंकास्पद कारोबार र खाता तत्काल रोक्न बैंक-वित्तीय संस्थालाई निर्देशन

काठमाडौं । दशैं, तिहार तथा छठ पर्वका सार्वजनिक बिदाका बेला हुन सक्ने साइबर ठगी नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विशेष व्यवस्था गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले शंकास्पद खाता तथा कारोबार तत्काल पहिचान गरी रोक्का गर्न र ठगीसम्बन्धी विवरण समयमै प्रहरीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको हो।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले असोज २७ गते जारी गरेको सूचनाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले साइबर ठगीसम्बन्धी घटनामा तत्काल समन्वय गर्न जिम्मेवार सम्पर्क व्यक्ति तोक्नुपर्नेछ। उक्त व्यक्तिको नाम, पद र मोबाइल नम्बरका साथै चौबीसै घण्टा निगरानी हुने ड्युटी इमेल ठेगानासमेत उपलब्ध गराउनुपर्नेछ।
बैंक तथा वित्तीय संस्थाले सम्पर्क व्यक्तिको विवरण नेपाल प्रहरी प्रधान कार्यालयको इमेल ठेगानामा पठाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ। सार्वजनिक बिदाका समयमा विद्युतीय माध्यमबाट हुने आर्थिक ठगीका घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।












