मुस्ताङमै थन्किए २ हजार ५०० भन्दा बढी इभी, सडक अवरोधले ढुवानी ठप्प

काठमाडौँ । बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकमा उत्पन्न अवरोधले कोरलानाका हुँदै नेपाल भित्रिएका २ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) को ढुवानी प्रभावित भएको छ। सडक सञ्चालनमा आए पनि जोखिमपूर्ण अवस्था र आवागमनमा सहजता नहुँदा हजारौँ गाडी मुस्ताङका विभिन्न स्थानमा रोकिएका छन्।
सशस्त्र प्रहरीका अनुसार कोरलानाकाको खुला क्षेत्रमा २ हजारभन्दा बढी विद्युतीय गाडी पार्किङ गरेर राखिएका छन्। न्हेचुङस्थित भन्सार यार्डमा पनि २०० भन्दा बढी इभी रोकिएका छन्। यसबाहेक भन्सार प्रक्रिया पूरा गरी जोमसोम ल्याइएका करिब ५०० भन्दा बढी विद्युतीय सवारीसाधन दुईवटा पार्किङस्थलमा थन्किएका छन्।
साइमेक्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीका अनुसार मुस्ताङमा रोकिएका गाडीमध्ये २ हजारभन्दा बढी बिवाइडी कम्पनीका छन्। उनका अनुसार असोज ११ गतेअघि करिब ४५० वटा गाडी गन्तव्यतर्फ पठाइए पनि त्यसपछि सडकको प्रतिकूल अवस्थाले ढुवानीमा अवरोध सिर्जना गरेको हो।
रसुवा र तातोपानी नाका बन्द भएपछि कम्पनीले कोरलानाका हुँदै करिब ३ हजार विद्युतीय सवारीसाधन नेपाल भित्र्याउने योजना बनाएको छ। तर, सडकको अनिश्चित अवस्थाका कारण आयात भएका गाडीलाई सम्बन्धित गन्तव्यसम्म पुर्याउन चुनौती थपिएको छ।
उता, कोरलानाका हुँदै आयात गरिएका अन्य सामानको ढुवानी भने क्रमशः अघि बढ्न थालेको छ। सोमबारसम्म आयातित मालवस्तु बोकेका ६०० भन्दा बढी कन्टेनर मुस्ताङबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्। रोकिएका कन्टेनर बाहिरिएपछि सामान ढुवानीका लागि केही खाली कन्टेनर पुनः कोरलानाकातर्फ जान थालेका छन्।











