आज हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

२९ आश्विन २०८३, बिहीबार ०८:३९

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आगामी तीन दिन देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना छ।

आज देशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ। यी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थान तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। राति पनि हिमाली क्षेत्रमा बादल लाग्नेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्नेछ।

भोलि पनि हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र पहाडी क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। हिमाली क्षेत्रका थोरै स्थान तथा कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। राति तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ।

पर्सि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने अन्य प्रदेशका हिमाली तथा देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ। राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ भने तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*