सिटिजन लाइफको नौ वर्षे यात्रा, विश्वसनीय बीमा सेवामा प्रतिबद्धता

२ कार्तिक २०८३, सोमबार १०:२०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको नवौँ वार्षिकोत्सव मनाएको छ। नौ वर्षअघि अर्थात् २०७४ कात्तिक २ गतेदेखि जीवन बीमा सेवा सञ्चालन गर्दै आएको कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहककेन्द्रित, गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले नवौँ वार्षिकोत्सवको विशेष अवसरमा निरन्तर विश्वास, साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहक, व्यावसायिक सिटिजन लिडर, नियमनकारी निकाय, शेयरधनी, सञ्चालक समिति, कर्मचारी तथा शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गरेको छ। नौ वर्षको यात्रामा प्राप्त उपलब्धि र अनुभवलाई आत्मसात् गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ।

सिटिजन लाइफले जीवन बीमालाई व्यक्ति तथा परिवारको आर्थिक सुरक्षाको आधारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। नियमित रूपमा सानो रकम बचत गर्दै भविष्यमा आर्थिक रूपमा सुरक्षित र आत्मनिर्भर बन्न सकिने अवधारणालाई कम्पनीले प्राथमिकतामा राख्दै आएको छ।

कम्पनीले बालबालिकाको शिक्षाका लागि आर्थिक व्यवस्था, सम्पत्तिसहितको सुरक्षा, स्वास्थ्य तथा कल्याण, अवकाशपछिको जीवनका लागि आर्थिक तयारी र बचतजस्ता आवश्यकतालाई सम्बोधन गर्ने विभिन्न जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ। सामाजिक आवश्यकता र ग्राहकका चाहनाअनुसार नवीन बीमा योजना ल्याउनुका साथै सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्ने कम्पनीको रणनीति रहेको छ।

नेपाल बीमा प्राधिकरणबाट २०७४ भदौ ७ गते सञ्चालन अनुमति प्राप्त गरेको सिटिजन लाइफले सोही वर्षको कात्तिक २ गतेदेखि औपचारिक रूपमा सेवा सञ्चालन सुरु गरेको थियो। कम्पनीले स्थापनाकालदेखि नै आधुनिक प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय अभ्यासको स्थानीय आवश्यकताअनुसार कार्यान्वयन र देशका विभिन्न क्षेत्रमा बीमा सेवाको पहुँच विस्तारमा जोड दिँदै आएको छ।

कम्पनीका अनुसार हाल देशका विभिन्न भागमा रहेका १३५ शाखा तथा उपशाखामार्फत ग्राहकलाई सेवा प्रदान गरिँदै आएको छ। विस्तारित सेवा सञ्जालमार्फत विभिन्न जीवन बीमा योजना सर्वसाधारणसम्म पुर्‍याउने लक्ष्य कम्पनीले लिएको छ।

पुनर्बीमासम्बन्धी व्यवस्थाअन्तर्गत कम्पनीले नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्ससँग व्यवस्था मिलाएको छ। साथै, विदेशमा आधारित परामर्शदातृ बीमाङ्कीको सेवा पनि लिँदै आएको कम्पनीले जनाएको छ।

सिटिजन लाइफ पाँच अर्ब रुपैयाँ अधिकृत पुँजी, पाँच अर्ब रुपैयाँ जारी पुँजी र पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी भएको सार्वजनिक सीमित कम्पनी हो। कम्पनीमा कान्तिपुर मिडिया ग्रुप, शिखर इन्स्योरेन्स, हवाई सेवा क्षेत्र, बैंकिङ, उत्पादनमूलक उद्योग, बीमा, औषधि, वित्त तथा लगानी, आतिथ्य तथा पर्यटन र घरजग्गा व्यवसायलगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति तथा संस्थाको प्रवर्द्धन रहेको छ।

विभिन्न क्षेत्रका अनुभवी व्यवसायी तथा व्यावसायिक नेतृत्वको सहभागिताले कम्पनीको संस्थागत विकास र सेवा विस्तारमा आधार प्रदान गरेको छ।

सिटिजन लाइफले आफूलाई सबैभन्दा विश्वसनीय जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्ने, सर्वसाधारणको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने र कर्मचारीका लागि उत्कृष्ट कार्यस्थल निर्माण गर्ने लक्ष्य अघि सारेको छ। ग्राहकको आवश्यकता बुझ्ने, जोखिमबाट सुरक्षा प्रदान गर्ने र आर्थिक सुरक्षाको प्रत्याभूति गराउने कम्पनीको मूल उद्देश्य रहेको छ।

ग्राहककेन्द्रित सेवा, ग्राहक सन्तुष्टि, नियामकीय व्यवस्थाको पालना, प्रविधिमा आधारित सेवा र व्यवस्थित संस्थागत संस्कृतिलाई कम्पनीले आफ्नो कार्यसम्पादनका प्रमुख आधार मानेको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलको नेतृत्वमा सिटिजन लाइफले आगामी दिनमा जीवन बीमाको पहुँच विस्तार गर्दै सबै उमेर समूहका नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।

नवौँ वार्षिकोत्सवको अवसरसँगै कम्पनीले नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

नौ वर्षको अनुभव र उपलब्धिलाई आधार बनाउँदै आगामी दिनमा अझ गुणस्तरीय, विश्वसनीय र ग्राहककेन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धतासहित सिटिजन लाइफले आफ्नो यात्रालाई निरन्तरता दिने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*