फोर्स गाडीको प्राविधिक कमजोरीमाथि प्रश्न, सुर्खेतमा दुर्घटना हुँदा ९ जना घाइते

काठमाडौ । सुर्खेतको पञ्चपुरी नगरपालिका–३, लगाम डाँडामा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी मंगलबार बिहान साढे १० बजे दुर्घटनामा परेको हो।
गाडीमा २१ जना सवार रहेका थिए। गाडीमा प्राविधिक समस्या आएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। गाडीको ब्रेक नलागेका कारण दुर्घटना भएको बताइएको छ।
दुर्घटनामा ९ जना घाइते भएका छन्। उनीहरूमध्ये केहीको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको पञ्चपुरी आधारभूत अस्पतालमा उपचार गरिएको छ भने थप उपचार आवश्यक पर्ने घाइतेलाई प्रदेश अस्पताल कालागाउँ पठाइएको छ।
पछिल्लो समय नेपाली बजारमा फोर्स कम्पनीका गाडीको प्राविधिक अवस्था, सुरक्षा र विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने गरी यस्ता दुर्घटनाका घटना चर्चामा आउन थालेका छन्।











