दशैं नयाँ नोटको जतन कसरी गर्ने ? राष्ट्र बैंकका यस्ता छन् सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंमा टीका, जमरा र दक्षिणा दिँदा प्रयोग हुने बैंक नोटको जतन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। चाडपर्वका बेला नोटमा रङ, अबिर तथा अन्य पदार्थ लगाउने, च्यात्ने र भिजाउने जस्ता कार्य नगर्न बैंकले सचेत गराएको हो।
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले असोज २७ गते जारी गरेको वित्तीय चेतनामूलक सन्देशमार्फत नोटलाई सफा, सुक्खा र सुरक्षित राख्न आग्रह गरेको छ। चलनचल्तीमा सफा र सुकिला नोट कायम राख्ने उद्देश्यले बैंकले नोटको प्रयोगमा सावधानी अपनाउन सर्वसाधारणको ध्यानाकर्षण गराएको हो।
दसैँमा देवीको प्रसादस्वरूप टीका र जमरासँगै दक्षिणा दिने परम्परा रहेकाले बैंक नोटको संरक्षणमा विशेष ध्यान दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ। विजयादशमीका अवसरमा दक्षिणा दिँदा सम्भव भएसम्म डिजिटल भुक्तानीका माध्यम प्रयोग गर्न पनि बैंकले सुझाव दिएको छ।
नोटको संरक्षण गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै राष्ट्र बैंकले चाडपर्वमा हुने आर्थिक कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउन आग्रह गरेको छ। साथै, वित्तीय सेवासम्बन्धी गुनासो भएमा बैंकको अनलाइन पोर्टल www.gunaso.nrb.org.np मार्फत दर्ता गर्न सकिने जनाएको छ। वित्तीय ग्राहक संरक्षण इकाइमा ०१-५३१९६०५ नम्बरमा सम्पर्क गर्न सकिने बैंकले जानकारी दिएको छ।
राष्ट्र बैंकले विजया दशमीको शुभकामना दिँदै नोटको जतन गरी जिम्मेवार ढंगले चाडपर्व मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।











