विश्व बजारमा वस्तुको मूल्य २३ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण

बुधबार सार्वजनिक गरिएको ‘कमोडिटी मार्केट्स आउटलुक’ प्रतिवेदनमा विश्व बैंकले मध्यपूर्वको युद्धका कारण मालवाहक जहाजको आवागमन प्रभावित भएको, कालो सागर क्षेत्रमा अन्न ढुवानीमा समस्या देखिएको र सुनजस्ता सुरक्षित लगानीका साधनप्रति माग बढेको जनाएको छ। यी कारणले विश्व बजारमा वस्तुको मूल्य बढाउन योगदान पुर्याएको प्रतिवेदनमा उल्लेख छ।
विश्वव्यापी रूपमा संकट बढ्दै जाँदा ऊर्जा, खाद्यान्न र धातुलगायतका वस्तुको मूल्यमा उल्लेख्य वृद्धि भएको बैंकले जनाएको छ। मध्यपूर्वको द्वन्द्व थप चर्किएमा र रुसी तेल पूर्वाधारमा क्षति पुग्ने क्रम जारी रहेमा विश्व बजारमा आपूर्ति थप प्रभावित भई मूल्यवृद्धिको दबाब अझ बढ्न सक्ने चेतावनी पनि बैंकले दिएको छ।
विश्व बैंकले सन् २०२७ मा भने वस्तुको मूल्य सात प्रतिशतले घट्ने अनुमान गरेको छ। यद्यपि, सन् १९५० यताकै सबैभन्दा प्रतिकूल एल निनो मौसमी प्रभाव देखिन सक्ने सम्भावना र आपूर्ति अवरोध कायम रहेमा खाद्यवस्तुको मूल्य अपेक्षाअनुसार घट्न नसक्ने जोखिम छ।











