जिउँदो छोरा फर्किएपछि दुर्घटना बीमा दाबी भुक्तानीमाथि प्रश्न, अर्कैको शवको गरिएको थियो सनाखत

१२ कार्तिक २०८३, बिहीबार १४:०१

काठमाडौं । सवारी दुर्घटनामा मृत्यु भएको भन्दै दाहसंस्कार गरिएका व्यक्ति जिउँदै घर फर्किएपछि दुर्घटना बीमा दाबी भुक्तानीको प्रक्रियामाथि प्रश्न उठेको छ। मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका ३७ वर्षीय पदमबहादुर राई जीवितै घर फर्किएपछि प्रहरीले घटनाबारे पुनः अनुसन्धान थालेको हो।

गत जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा जेठ २७ गते मृत्यु भएको थियो। मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो।

त्यसपछि पदमबहादुरकी आमाले कोशी अस्पतालको शवगृहमा राखिएको शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेकी थिइन्। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाएपछि परिवारले अन्त्येष्टि गरेको थियो। परिवारले दुर्घटना बीमाबापतको रकमसमेत प्राप्त गरिसकेको बताइएको छ।

तर, मृत्यु भएको भनिएका पदमबहादुर नै जिउँदै घर फर्किएपछि घटनाले बीमा दाबी भुक्तानीमा मृतकको पहिचान र कागजात प्रमाणीकरणको महत्त्वलाई उजागर गरेको छ।

मोरङका प्रहरी प्रमुख काविद कटुवालका अनुसार पदमबहादुर २०८२ माघदेखि घरमा थिएनन्। उनी परिवारलाई जानकारी नदिई घर छोडेर गएको बताइएको छ। पदमबहादुरले आफू भारतमा रहेको दाबी गरेका छन्।

प्रहरीले शव सनाखत गर्दाका कागजातबारे थप अनुसन्धान गर्ने तथा दुर्घटनामा वास्तवमै मृत्यु भएका व्यक्तिको पहिचान खोज्ने जनाएको छ।

यस घटनाले बीमा दाबी भुक्तानीअघि मृतकको पहिचान, प्रहरी मुचुल्का, अस्पतालको मृत्यु विवरण र अन्य आवश्यक कागजातको विश्वसनीयता सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई पुनः चर्चामा ल्याएको छ। यद्यपि, बीमा रकम कुन कम्पनीले, कति र कुन आधारमा भुक्तानी गरेको हो भन्ने विवरण खुल्न बाँकी छ।

जेठको दुर्घटनापछि परिवारले दुर्घटना बीमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको प्रहरीले जनाएको छ । पदमबहादुर जीवितै भेटिएपछि अब कसरी अगाडि बढाउने भन्ने अन्योलमा प्रहरी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बीमाबापत प्राप्त भएको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ । ‘सरकारी अभिलेखमा बेवारिसे शवको रूपमा विवरण सच्याइनेछ,’ डीएसपी मिश्रले भने, ‘त्यसपछि जेठ महिनामा दुर्घटनामा परी ज्यान गुमाएका ती वास्तविक मृतकको पहिचानका लागि पुनस् अनुसन्धान सुरु हुनेछ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*