शेयर बजारमा निरन्तर फर्किँदै हरियाली: कारोबार पुग्यो साढे ८ अर्ब, आउला त बुल?

काठमाडौं । शेयर बजारमा लगातार तेस्रो कारोबार दिन पनि सुधार देखिएको छ। दशैंपछिका चार कारोबार दिनमध्ये पहिलो दिन सामान्य गिरावट आएको बजार त्यसयता निरन्तर उकालो लागिरहेको हो। बजारमा देखिएको सुधारले लगानीकर्ताको मनोबलसमेत बढाएको छ। पछिल्लो समय नियामक निकायका नीतिहरू र धितोपत्र कारोबारसम्बन्धी व्यवस्थालाई लिएर लगानीकर्तामा अन्योल सिर्जना हुँदा दबाबमा परेको बजारले पुनः गति लिन थालेपछि लगानीकर्तामा सकारात्मक अपेक्षा बढ्दै गएको छ।
कुनै व्यक्ति वा संस्थाले एकैपटक वा पटक–पटक गरी एक दिनमा १० लाख रुपैयाँ वा सोभन्दा बढीको धितोपत्र कारोबार गरेमा सम्बन्धित सूचक संस्थाले कारोबार भएको मितिले १५ दिनभित्र वित्तीय जानकारी इकाईले तोकेको प्रणालीमार्फत विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था छ। उक्त व्यवस्थालाई लिएर बजारमा विभिन्न हल्ला फैलिँदा लगानीकर्तामा अन्योल बढेको थियो। यद्यपि, पछिल्लो समय नीतिगत व्यवस्थाबारे स्पष्टता बढ्दै जाँदा बजारमा सकारात्मक प्रभाव देखिन थालेको छ। लगानीकर्ताले पनि बजारमा फैलिने हल्लाभन्दा वास्तविक अवस्था र उपलब्ध तथ्यांकका आधारमा निर्णय लिनुपर्ने देखिन्छ।
शेयर बजारका लागि महत्त्वपूर्ण मानिने बैंकको ब्याजदरसमेत निरन्तर ओरालो लागिरहेको छ। ब्याजदर घट्दा लगानीकर्ताका लागि कर्जा लागत कम हुने र शेयर बजारमा लगानीको आकर्षण बढ्न सक्ने अपेक्षा गरिएको छ। यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जामा देखाएको सक्रियताले पनि बजारमा लगानीयोग्य रकमको प्रवाह बढ्न सक्ने सम्भावना छ। नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयका नीतिगत व्यवस्थाले बजारलाई सकारात्मक दिशातर्फ अघि बढाउन सहयोग पुग्ने अपेक्षा लगानीकर्ताले गरेका छन्। ब्याजदरमा आएको गिरावट, कर्जाको उपलब्धता र नीतिगत अन्योलमा कमी आउन सकेमा बजारले आगामी दिनमा थप गति लिन सक्ने अनुमान गरिएको छ।
बजारमा निरन्तर सुधार देखिए पनि लगानीकर्ताले हतारमा निर्णय लिनुभन्दा कम्पनीको वित्तीय अवस्था, नाफा–नोक्सान, प्रतिसेयर आम्दानी, ऋणको भार र भविष्यको व्यावसायिक सम्भावनाको विश्लेषण गर्न आवश्यक रहेको जानकारहरु बताउछन् । बजार बढ्न थालेकै आधारमा कमजोर वित्तीय अवस्था भएका कम्पनीमा लगानी गर्दा जोखिमसमेत बढ्न सक्छ। त्यसैले कम्पनीको वास्तविक अवस्था, शेयर मूल्य र प्रतिफलको सम्भावनालाई ध्यानमा राखेर लगानीको निर्णय लिनु उपयुक्त हुने जानकारको सुझाव छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.५४ अकंले बढेर २६९५ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको २ करोड ३२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५५ करोडको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचकमा सुधार देखिएको छ। आज वाणिज्य बैंक समूह र होटल तथा पर्यटन समूहको शेयर मूल्य बढेको हो ।
आज १८१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ ।











