तीन महिनामा १६ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, गत वर्षभन्दा आधाभन्दा बढीले घट्यो

१२ कार्तिक २०८३, बिहीबार १४:३७

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा १६ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म ४२२ वटा उद्योग तथा परियोजनामार्फत उक्त लगानी प्रस्ताव स्वीकृत भएको हो ।

विभागका अनुसार कुल स्वीकृत परियोजनामध्ये ४१० वटा स्वचालित मार्ग (अटोमेटिक रुट) र १२ वटा नियमित स्वीकृति प्रक्रियामार्फत अघि बढेका छन् । स्वचालित मार्गबाट १४ अर्ब ५८ करोड ६५ लाख रुपैयाँभन्दा बढी र नियमित प्रक्रियाबाट १ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

महिनागत विवरणअनुसार साउनमा १९२ वटा परियोजनामार्फत करिब ४ अर्ब ७७ करोड २८ लाख रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको थियो । भदौमा १३६ वटा परियोजनाका लागि ६ अर्ब ३५ करोड १५ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो । तर, असोजमा भने ९४ वटा परियोजनामार्फत ५ अर्ब १० करोड ७५ लाख रुपैयाँको लगानी प्रस्ताव स्वीकृत भएको छ । यससँगै भदौको तुलनामा असोजमा लगानी प्रतिबद्धताको रकम घटेको देखिएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिसँग तुलना गर्दा चालु वर्षमा वैदेशिक लगानी प्रतिबद्धता उल्लेख्य रूपमा घटेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा ३५ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको थियो । गत वर्ष साउनमा करिब २४ अर्ब, भदौमा ९ अर्ब र असोजमा ३ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको थियो । यस वर्ष भने तीन महिनाको कुल प्रतिबद्धता १६ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ । यसले गत वर्षको तुलनामा चालु वर्षको सुरुवाती अवधिमा लगानी प्रतिबद्धता कमजोर बनेको देखाउँछ ।

क्षेत्रगत विवरणमा लगानी रकमका आधारमा पर्यटन क्षेत्र विदेशी लगानीकर्ताको पहिलो रोजाइमा परेको छ । पहिलो तीन महिनामा पर्यटनसम्बन्धी १०८ वटा परियोजनाका लागि ६ अर्ब ८ करोड २८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । ऊर्जा क्षेत्रमा दुईवटा परियोजनामार्फत ४ अर्ब रुपैयाँ लगानी प्रस्ताव भएको छ । त्यस्तै, सेवामूलक क्षेत्रका ३३ परियोजनामा ३ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ र उत्पादनमूलक क्षेत्रका २५ परियोजनामा १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

परियोजनाको संख्याका आधारमा भने सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्र अगाडि देखिएको छ । स्वीकृत ४२२ परियोजनामध्ये २५२ वटा सूचना प्रविधिसम्बन्धी छन्, जुन कुल परियोजनाको करिब ६० प्रतिशत हो । यद्यपि, यी परियोजनाका लागि कुल ९२ करोड ८३ लाख रुपैयाँ मात्रै लगानी प्रतिबद्धता आएको छ । कृषि तथा वन पैदावर क्षेत्रमा दुईवटा परियोजनामार्फत ४ करोड रुपैयाँ लगानी प्रस्ताव भएको छ भने खनिज र पूर्वाधार क्षेत्रमा यस अवधिमा कुनै पनि वैदेशिक लगानी प्रस्ताव आएको छैन ।

उद्योगको आकारअनुसार हेर्दा स्वीकृत परियोजनामध्ये साना उद्योगको हिस्सा सबैभन्दा ठूलो छ । विभागका अनुसार पहिलो त्रैमासमा ४१७ वटा साना उद्योग, दुईवटा मझौला र तीनवटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता स्वीकृत भएको छ ।

यस अवधिमा वैदेशिक लगानीबाट सञ्चालनमा रहेका उद्योग तथा व्यवसायबाट लाभांश र रोयल्टीका रूपमा रकम विदेशिएको पनि विभागको तथ्यांकले देखाएको छ । साउनदेखि असोजसम्म विदेशी लगानीकर्ताले लाभांशबापत १९ करोड ६४ लाख १६ हजार रुपैयाँ स्वदेश फिर्ता लगेका छन् ।

त्यस्तै, रोयल्टीबापत नेपाली रुपैयाँ ९१ करोड ६६ लाख, अमेरिकी डलर ११ लाख ९० हजार र भारतीय रुपैयाँ २ करोड ५७ लाख बाहिरिएको छ । अमेरिकी डलरमा भुक्तानी भएको रकम करिब १६ करोड रुपैयाँ र भारतीय रुपैयाँमा गएको रकम करिब ४ करोड ११ लाख रुपैयाँ बराबर रहेको छ । सेवा शुल्कबापत पनि रकम बाहिरिएको विभागले जनाएको छ ।

विभागले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १४४ जना विदेशी लगानीकर्ता, ९९ जना प्रतिनिधि र १५२ जना आश्रित परिवारका सदस्यका लागि व्यावसायिक भिसा सिफारिस गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*