बारामा डिजेल ट्यांकर, हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित हेटौँडा–पथलैया सडकखण्डमा डिजेल बोकेको ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
नेपाल आयल निगमको अमलेखगन्ज डिपो नजिक शुक्रबार दिउँसो करिब १२ बजे दुर्घटना भएको हो। अमलेखगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल ट्यांकरमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको हाइस ठोक्किएको थियो। त्यसपछि हाइसको पछाडिबाट धरानतर्फबाट आउँदै गरेको अनटेस्ट मोटरसाइकल पनि ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्यांकर र हाइसका चालक, मोटरसाइकल चालक तथा हाइसमा सवार यात्रु घाइते भएका हुन्। घाइतेमध्ये सात जना नेपाली र दुई जना भारतीय नागरिकसहित विभिन्न स्थानका व्यक्ति रहेका छन्। उनीहरू सबैको अवस्था सामान्य रहेको जनाइएको छ। घाइतेहरूको अमलेखगन्जस्थित अक्कल बहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ।
दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक सुरुमा एकतर्फी सञ्चालन गरिएको थियो। दिउँसो १ बजेर ५५ मिनेटदेखि भने सडकमा दुईतर्फी यातायात पुनः सञ्चालनमा आएको छ। दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगन्जमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











