६८ हजार नागरिकलाई सरकारले निःशुल्क एआई तालिम दिंदै

काठमाडौं । दुई हजार जनालाई मात्र सहभागी गराउने लक्ष्यसहित सञ्चालन गर्न लागिएको निःशुल्क कृत्रिम बौद्धिकता (एआई) तालिममा ६८ हजारभन्दा बढी आवेदन परेपछि सरकारले आवेदन दिएका सबैलाई तालिम दिने निर्णय गरेको छ।
युवाहरूको उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै तालिमको अवसर सबै आवेदकलाई उपलब्ध गराउन लागिएको युवा, श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रम्ट इन्जिनियरिङ’ विषयमा अनलाइन तालिम सञ्चालन गरिरहेको छ।
सुरुमा दुई हजार जनालाई तालिम दिने लक्ष्य राखेर आवेदन माग गरिएको थियो। तर देशभरबाट ६८ हजारभन्दा बढी आवेदन परेपछि सरकारले सहभागीको संख्या बढाएर सबै आवेदकलाई समेट्ने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार तालिममा च्याटजीपीटी, क्लाउड लगायतका एआई उपकरण प्रयोग गर्ने तरिका सिकाइनेछ। त्यसैगरी एआईबाट प्रभावकारी नतिजा प्राप्त गर्न आवश्यक निर्देशन अर्थात् प्रम्प्ट लेख्ने सीप, प्रस्तुतीकरण तयार गर्ने, तस्बिर तथा भिडियो निर्माण गर्ने र एआईको जिम्मेवार प्रयोग गर्ने विषयमा आधारभूत जानकारी दिइनेछ।
कात्तिक १८ र १९ गते सञ्चालन हुने तालिमका लागि बिहान १० देखि १२ बजे र बेलुका ६ देखि ८ बजेसम्मका दुई सत्र निर्धारण गरिएको छ। सहभागीले आफूलाई अनुकूल हुने सत्र रोजेर तालिम लिन सक्ने व्यवस्था गरिएको छ।
तालिममा सहभागी हुने आवेदकलाई आफूले रोजेको सत्र सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत अनलाइन कक्षामा जोडिने लिंक पठाइने व्यवस्था गरिएको छ। अहिले बिहान १० देखि १२ बजेसम्मको सत्र सञ्चालन भइरहेको छ।











