बुङ्गल हाइड्रोको नाफा ६६ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ४ करोड ८३ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा ६६ प्रतिशतभन्दा बढीले बढेको हो।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा २ करोड ९० लाख १७ हजार रुपैयाँ थियो। यस वर्ष नाफा १ करोड ९३ लाख रुपैयाँभन्दा बढीले बढेको देखिन्छ। कम्पनीको नाफा बढ्नुमा वित्तीय खर्चमा आएको कमीले मुख्य भूमिका खेलेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ४ करोड ४७ लाख ७७ हजार रुपैयाँ रहेको वित्तीय खर्च चालु आर्थिक वर्षको सोही अवधिमा घटेर २ करोड ८६ लाख ३९ हजार रुपैयाँमा झरेको छ।
त्यस्तै कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेको छ। अघिल्लो वर्षको असोज मसान्तसम्म ११ करोड २४ लाख ७७ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ११ करोड ६२ लाख ५४ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको कुल नाफा पनि ७ करोड ८८ लाख ६६ हजार रुपैयाँबाट बढेर ८ करोड २४ लाख ५४ हजार रुपैयाँ पुगेको छ।
नाफामा भएको वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८६ पैसा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी १३ रुपैयाँ ७२ पैसा थियो। कम्पनीको चुक्ता पुँजी ८३ करोड रुपैयाँ छ। प्रतिशेयर नेटवर्थ भने ८७ रुपैयाँ २४ पैसा रहेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ८९ रुपैयाँ ७४ पैसा थियो। त्यस्तै कम्पनीको तरलता अनुपात ०.४५ गुणा पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ०.३१ गुणा थियो भने मूल्य आम्दानी अनुपात १०७.३२ गुणा कायम भएको छ।











