विश्व पर्यटन नेतृत्व सम्मेलनको साझा निष्कर्षः स्थानीय समुदायलाई पर्यटनको लाभ पुर्‍याउनुपर्ने

१८ कार्तिक २०८३, बुधबार ११:४४

काठमाडौं । पर्यटन क्षेत्रको दिगो विकास र लगानी विस्तारका लागि सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको पर्यटन क्षेत्रका अगुवाहरूले बताएका छन्। लन्डनमा आयोजित विश्व यात्रा बजार (डब्ल्यूटीएम) २०२६ को पहिलो ‘लिडर्स समिट’मा सहभागी विभिन्न देशका पर्यटन अधिकारीहरूले पूर्वाधार विकाससँगै स्थानीय समुदायको सहभागितालाई पर्यटन प्रवद्र्धनको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका हुन्।

सम्मेलनमा सहभागी वक्ताहरूले आफ्ना देश तथा गन्तव्यमा भएका ठूला पूर्वाधार लगानी र समुदायमा आधारित पर्यटन कार्यक्रमका अनुभव साझा गरेका थिए। उनीहरूले पर्यटनलाई आर्थिक विकासको प्रमुख आधार बनाउन सरकारी नेतृत्व, निजी लगानीकर्ताको विश्वास र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए। संयुक्त अरब इमिरेट्सको रस अल खैमाह पर्यटन विकास प्राधिकरणकी प्रमुख कार्यकारी अधिकृत फिलिपा ह्यारिसनले हाल आफ्नो क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटनको योगदान ५ प्रतिशत रहेको जानकारी दिइन्। आगामी पाँचदेखि १० वर्षभित्र यसलाई बढाएर २० देखि ३० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको उनले बताइन्।

उक्त लक्ष्य हासिल गर्न स्थानीय समुदाय र सार्वजनिक–निजी साझेदारीलाई प्राथमिकता दिइएको उनको भनाइ थियो। स्थानीय नागरिकलाई पर्यटन क्षेत्रमा रोजगारी तथा व्यवसायका अवसर उपलब्ध गराउँदै दक्ष जनशक्ति आकर्षित गर्नुपर्ने उनले बताइन्। यसबाट पर्यटकले स्थानीय संस्कृति र जीवनशैलीसँग जोडिएका अनुभव प्राप्त गर्ने तथा स्थानीय समुदायले पनि आर्थिक लाभ लिन सक्ने उनको धारणा थियो। उनले रस अल खैमाहमा सन् २०४० सम्मको पर्यटन विकास योजना रहेको र त्यहाँका राष्ट्रप्रमुखले पर्यटन क्षेत्रको विकासमा विशेष चासो राखेको पनि उल्लेख गरिन्।

मध्यपूर्वमा जारी द्वन्द्वका बाबजुद रस अल खैमाहको अर्थतन्त्र र पूर्वाधारले स्थायित्व देखाएको ह्यारिसनले बताइन्। मध्यपूर्वबारे बाहिर रहेको धारणा र वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै उनले यस क्षेत्रले दीर्घकालीन विकासमा ध्यान केन्द्रित गरिरहेको बताइन्।

इजिप्ट पर्यटन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अहमद युसुफले पर्यटनलाई आफ्नो देशको अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गरे। पछिल्ला वर्षमा विमानस्थल सुधार, पूर्वाधार विकास तथा सौर्य र जलविद्युत्जस्ता स्वच्छ ऊर्जाको विस्तारमा ठूलो लगानी गरिएको उनले जानकारी दिए। उनका अनुसार इजिप्टले पछिल्ला वर्षमा पूर्वाधार विकासमा आफ्नो जीडीपीको करिब २० प्रतिशत बराबर लगानी गरेको छ। मध्यपूर्वको चुनौती, विश्व अर्थतन्त्रको अनिश्चितता, मुद्रास्फीति र ऊर्जा संकटका बाबजुद सन् २०२६ मा इजिप्टमा पर्यटक आगमन करिब ५ प्रतिशतले बढिरहेको युसुफले बताए। पर्यटक आउने बजार विविधीकरण गर्नुका साथै पर्यटनले अर्थतन्त्रमा पुर्‍याउने योगदानबारे स्थानीय समुदायलाई जानकारी दिन ‘वी आर इजिप्ट’ अभियान सञ्चालन गरिएको उनले उल्लेख गरे।

मेक्सिकोको जलिस्को राज्यकी पर्यटन सचिव मिसेल फ्रिडम्यानले त्यहाँका पहाड, सहर, समुद्री तट र परम्परागत बस्तीलाई पर्यटन लगानीका सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गरिन्। लगानीकर्तालाई आकर्षित गर्न आवश्यक पूर्वाधार, पर्यटकको माग र पर्यटन प्रवद्र्धनमा हुने लगानीबारे स्पष्ट जानकारी दिनुपर्ने उनको भनाइ थियो। उनले राज्यको सुरक्षाबारे बनेका धारणालाई सम्बोधन गर्दै स्थानीय समुदायको सहभागिताबाट पर्यटनमा मौलिकता र दिगोपन कायम गर्नुपर्नेमा जोड दिइन्। जलिस्कोले हालै फिफा विश्वकपको सहआयोजना गरेको थियो।

विश्व यात्रा तथा पर्यटन परिषद् (डब्ल्यूटीटीसी) की अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ग्लोरिया ग्वेभाराले गन्तव्यहरू पर्यटन उद्योगको मुख्य आधार भएको बताइन्। पर्यटन क्षेत्रमा लगानी बढाउन सार्वजनिक र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो। उनले पर्यटन लगानी आकर्षित गर्न कानुनी निश्चितता र नीतिगत स्थिरता, सरोकारवालाको सहभागिता, कर तथा लगानी प्रोत्साहन, राष्ट्रप्रमुखको प्रतिबद्धता, स्पष्ट आयोजना सूचीसहितको दीर्घकालीन योजना र पर्यटकको माग तथा बजार सम्भावनाको निरन्तर विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।

सम्मेलनमा स्पेनको पर्यटन कार्यालयका प्रतिनिधिहरूले सन् २०२४ मा सुरु गरिएको ‘स्पेन फर अल’ अभियानको अनुभव पनि प्रस्तुत गरेका थिए। अपाङ्गता भएका व्यक्तिसहित सबै प्रकारका पर्यटकका लागि सहज र पहुँचयोग्य पर्यटन सेवा विकास गर्नु अभियानको उद्देश्य हो। स्पेनको पर्यटन कार्यालयकी प्रमुख बजार अधिकृत बार्बरा काउटोले सामग्री निर्माता र सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिसँग सहकार्य गरेर स्पेनका विभिन्न पर्यटकीय अनुभव प्रवद्र्धन गरिएको बताइन्। उनले दृष्टिसम्बन्धी अपाङ्गता भएका कलाकार तथा लेखक पल क्यासल र उनका पति म्याथ्यु क्यासलको सहभागितामा स्पेनका विभिन्न स्थानका बहुसंवेदी अनुभव प्रस्तुत गरिएको उदाहरण दिइन्।

स्पेनको पर्यटन कार्यालयका बेलायतस्थित दिगोपन तथा प्रभाव प्रमुख जेसस रुइजले पर्यटनस्थलमा रहेका साना अवरोधले पनि अपाङ्गता भएका व्यक्तिका लागि समस्या सिर्जना गर्न सक्ने बताए। सामान्य सिँढी, अनुपयुक्त संकेत चिह्न वा सूचना प्रणालीको कमीले पर्यटकमा असहजता र तनाव उत्पन्न गर्न सक्ने उनको भनाइ थियो। ‘स्पेन फर अल’ अभियानले पर्यटन उद्योगलाई थप समावेशी बनाउन अन्य देश तथा संस्थाले पनि अपनाउन सक्ने योजना र उदाहरण उपलब्ध गराउन सक्ने उनले बताए।

डब्ल्यूटीएम लन्डनका कार्यक्रम निर्देशक क्रिस कार्टर–च्यापम्यानले स्पेनको पर्यटन कार्यालयलाई सन् २०२६ को डब्ल्यूटीएम लन्डनको पहिलो आधिकारिक पहुँचयोग्यता साझेदार घोषणा गरिएको जानकारी दिए। सम्मेलनको पहिलो दिन ‘स्पेन फर अल’ अभियानलाई थप विस्तार गर्ने उद्देश्यसहित ‘स्पेन, अ कन्ट्री फर अल’ नामक नयाँ अभियान पनि सार्वजनिक गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*